पोखरा । पोखराका युवा सुन्दर पौडेलले घर निर्माणको जापानी प्रविधि नेपाल भित्र्याएका छन् । नेपाल इस्सुइसा प्रालि स्थापना गरेर उनले काठ र स्टिलबाट घर तथा भवनहरु बनाउने प्रविधिको सुरुवात गरेका हुन् । कम्पनीले लेखनाथ बुढीबजारमा काठ र स्टिलबाट घर तथा भवन तयार गरिसकेको छ ।

६० वर्षभन्दा लामो समयदेखि घरजग्गा तथा निर्माण व्यवसायमा सक्रिय जापानी कम्पनी इस्सुइसा कर्पोरेसनको सहकार्यमा पौडेलले उक्त प्रविधि नेपालमा भित्र्याएका हुन् । जापानमै इन्जिनियरिङ पढेर त्यहीं व्यावसायिक अनुभवसमेत हाँसिल गरेका उनले न्यूनतम मूल्यमा बन्ने काठ तथा स्टिलबाट निर्मित घर भूकम्प प्रतिरोधात्मक पनि हुने जानकारी दिए ।

‘नेपालमा चलनचल्तीमा रहेको निर्माण प्रविधिको सट्टा वातावरणमैत्री र मानवीय स्वास्थ्य अनुकूल घर निर्माण गर्ने नेपाल इस्सुइसा प्रालिको उद्देश्य हो,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । उनका अनुसार जापानमा चलनचल्तीमा रहेको ‘टु बाई फोर’ प्रविधिबमोजिम निर्माण गर्दा छोटो समयमा घर तथा भवन तयार गर्न सकिन्छ । यो प्रविधिअनुसार काठ वा स्टिल अथवा कंक्रिटको संरचनामा घर तथा भवन निर्माण गर्न सकिने जानकारी पनि पौडेलले दिए । ‘उपभोक्ताको चाहना र आवश्यकता हेरी तीनैथरी विधिको मिश्रण (हाइब्रिड) गरी समेत निर्माण गर्न सकिन्छ,’ उनले भने ।

आफ्नो कम्पनी नाफामूलक भए पनि सामाजिक उत्तरदायित्वको अभिभारा सम्झेर ‘सबैका लागि घर’ भन्ने उद्देश्य राखेको उनले बताए । न्यूनआय भएका ग्रामीण क्षेत्रका उपभोक्ताका लागि विशेष सहुलियत मूल्यमा घर निर्माण गर्ने प्रतिबद्धता पौडेलले जनाएका छन् ।

कम्पनीले सस्तोभन्दा सस्तोमा घर एवं भवनको निर्माण तथा डिजाइन गर्ने जनाइएको छ । ‘हामी निजी आवासदेखि ठूलाठूला संस्थागत भवन, कार्यालय, अस्पताल, स्कुल तथा विलासी होटल, रिसोर्ट र भिल्लाहरु निर्माण गर्नेछौं । हामी परम्परागत प्रविधिको निर्माणमा लाग्नेभन्दा ७० प्रतिशत कम समयमा निर्माण पूरा गर्न सक्छौं,’ कम्पनीद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।

इस्सुइसा कम्पनीले टु बाई फोर प्रविधिका घरमा काठको अत्यधिक प्रयोग हुने हुनाले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई पनि सँगसँगै लैजाने उद्देश्य राखेको छ । नेपालमै उत्पादित काठ लगायत कच्चा पदार्थ प्रयोगमा ल्याई निर्माण क्षेत्रमा दीगो विकास गर्ने लक्ष्य राखेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

संसारका विकसित मुलुकमा काठका घरको निर्माण गर्ने चलन भएको कम्पनी प्रमुख पौडेलले बताए । उनका अनुसार जापान, अमेरिका, बेलायत लगायत युरोपका थुप्रै मुलकमा ८० प्रतिशतजसो घरहरु काठ र स्टिलबाट बनेका हुन्छन् । तर त्यसविपरीत नेपालमा कंक्रिट बाहुल्य घर तथा भवन निर्माणले गति लिइरहेकाले समृद्ध देशहरुकै निर्माण प्रविधि नेपालमा भित्र्याउन कम्पनी नेपालमा स्थापना गरेको उनले बताए ।

कम्पनीले पोखराको बैदाम (लेकसाइड) र नवलपरासीको कावासोतीमा प्रस्तावित होटल तथा घरको डिजाइन तयार पारिसकेको छ । तिनको संरचना छिट्टै बन्ने कम्पनीले जनाएको छ ।इन्जिनियर पौडेल प्रमुख रहेको नेपाल इस्सुइसा प्रालि घरजग्गा कारोबार तथा निर्माण व्यवसायमा सक्रिय जापानको इस्सुइसा कर्पोरेसनको नेपालस्थित भगिनी संस्था हो । इस्सुइसा कर्पोरेसनले विश्वमै पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय शाखा खोलेको हो । नेपालमा १० करोड रुपैयाँसम्म लगानी गर्ने कम्पनीको लक्ष्य रहेको जानकारी पौडेलले दिएका छन् ।

इन्जिनियर पौडेलले नेपालका युवा जनशक्तिलाई अत्याधुनिक उपकरण र औजारबाट निर्माण क्षेत्रको दक्ष कामदार बनाउन सुरु गरिसकेको जानकारीसमेत दिए । जापानी प्राविधिक नेपालमै डाकेर अत्याधुनिक सीप र ज्ञान सिकाइ दक्षता अभिवृद्धि गरी नेपाली युवालाई वैदेशिक रोजगारीको भर पर्नुपर्ने बाध्यताबाट मुक्ति दिलाउन योगदान गर्ने र कतिपयलाई सीप सिकाउन जापानै पनि लैजाने पौडेलको उद्देश्य छ ।

उक्त उद्देश्यअनुसार क्यान डु टेक संस्था सञ्चालन गरिसकेका छन् । ‘विदेशबाट सीप सिकेर फर्कने युवालाई यहीं केही गर्न सकिन्छ भन्ने विश्वास र प्रेरणा दिने उद्देश्य पनि कम्पनीले राखेको छ । उनीहरुसँगै हातेमालो गरी नेपाली भूमिमा विभिन्न रचनात्मक र उद्यमशील कार्य गर्ने यो कम्पनीको अर्को लक्ष्य छ,’ उनले भने । प्राविधिक सहयोगको खाचो भए इन्बक्समा म्यासेज गर्नुहोला ।

सम्बन्धित खबरहरु