एजेन्सी । सिरियामा पछिल्लो समयमा हिंसा बढ्दै गएको गुटा क्षेत्रमा शनिबार पनि आक्रमण रोकिएको छैन । उक्त क्षेत्रमा शनिबारको आक्रमणबाट पनि केही व्यक्ति मारिएको अनुमान गरिएको छ ।संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको गुटा क्षेत्रमा मात्र गएको दुई हप्तायता ५०० भन्दा बढी नागरिक मारिएको खुलासा हालै गरेको थियो ।सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोही विरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको जनाइएको छ । सो क्रम पछिल्ला केही दिनयता पनि जारी नै रहेको बताइएको छ ।राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालयले गुटामा हवाई तथा स्थल कारबाही जारी छ, नागरिकको नाजुक स्थितिका कारण सो क्षेत्रमा युद्धविरामका लागि राष्ट्रसंघले गरेको आग्रहको सुनुवाई भएको छैन ।

मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले गुटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेका बताउनुभयो । उनीहरु आधारभूत आवश्यकता बाट समेत बञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन् ।गुटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन् । उनीहरु सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ । उनीहरुले सुरक्षित शिविरहरु बढी खोजेका बताइएको छ ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वीगुटामा करिब चार लाख मानिसको बसोबास रहेको छ । गुटा राजधानी दमासकसनजिकको विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो ।सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी १०० भन्दा बढी बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै आन्दोलन सुरु भएको थियो । नागरिकको सो माग अझै जारी छ ।सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएपछि यहाँका चार लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन् । पछिल्लो समयमा त्यहाँको अवस्था थप तनावपूर्ण बन्दै छ ।

सम्बन्धित खबरहरु