पूर्ण रुपमा अनपढले १७ वर्षसम्म युनिभर्सिटीमा पढाए, यस्तो छ रोचक र प्रेरणादायी कहानी

2018-04-17 12:35

बीबीसी । जोन कोरकोरन अमेरिकाको न्यू मेक्सिकोमा ४०–५० को दशकमा हुर्किए । ६ सन्तानमध्येका एक जोनले स्कूल, कलेज र १७ वर्षको शिक्षण पेसामा रहँदा आफूबारेकोे एक गोप्य कुरा कसैलाई पनि बताएनन् ।उनको रोचक तथा प्रेरणादायी कहानी उनकै शब्दमाबाल्यकालमा मेरा आमा–बुवाले भन्नुहुन्थ्यो कि म एक विजेता हुँ । जीवनको पहिलो ६ वर्षसम्म म यो कुरालाई पटक्कै विश्वास गर्दिनथें । 

मैले अलि ढिला बोल्न थालें र आफ्नो बहिनीजस्तै लेख्छु पढ्छु भनेर निकै आशावादी भएर स्कूल गएँ ।पहिलो वर्ष त सबैकुरा ठिक रह्यो किनभने स्कूलमा त्यस्तो केही गर्नुपर्दैनथ्यो तर दोस्रो वर्ष हामीलाई पढ्न सिक्नु थियो । तर मलाई यस्तो हुन्थ्यो कि कसैले मेरो अगाडि चीनियाँ भाषाको पुस्तक राखिदिएको छ र जे कुरा त्यसमा दिइएको छ, त्यो मैले फिटिक्कै बुझ्दिनथें ।एक ६–७ वर्षको बालकलाई आफ्नो यो समस्या बुझ्न सजिलो पनि थिएन ।मलाई याद छ, राती सुत्नुअघि म भगवानसँग प्रार्थना गर्थे, ‘प्लिज भगवान्, म बिहान उठ्दा मलाई पढ्न आओस् । कहिलेकाँही त उठ्ने बित्तिकै किताब खोलेर पनि हेर्थें । तर केही चमत्कार भएन ।’

म स्कूल होइन, युद्धमा जान्थेंः  म ‘नालायक बच्चाको लाइन’ मा बस्न थालें । उनीहरु त्यस्ता बच्चा थिए जसलाई मजस्तै लेख्न पढ्न समस्या हुन्थ्यो । मलाई थाहा थिएन– म त्यहाँ कसरी पुगें, त्यहाँबाट कसरी बाहिर निस्कूँ र मलाई अलिकति पनि थाहा थिएन कि के प्रश्न सोधुँ ।’हाम्रा शिक्षकहरुले म बस्ने ठाउँलाई नालायक बच्चाको लाइन भन्दैनथे । तर विद्यार्थीले नै यस्तो भन्दथे र जब तपाईं नालायक बच्चाको लाइनमा बस्न थाल्नुहुन्छ, तपाईं नालायक नै महसुस गर्न थाल्नुहुन्छ । 

अभिभावक–शिक्षकको मिटिङमा शिक्षकले मेरा आमा–बुवालाई भन्थे, ‘यो निकै तेज दिमाग भएको बच्चा हो, यसले सिक्नेछ ।’हरेक वर्ष शिक्षकले मलाई यस्तै भन्ने गर्थे र मलाई अर्को कक्षामा चढाइन्थ्यो ।तर यस्तो किन भइरहेको थियो मैले बुझिरहेको थिइनँ ।जब म पाँच कक्षा पुगें तब मैले अब पढ्न सक्छु भन्ने आशा नै मारिसकेको थिएँ । म दैनिक बिहान उठ्थें, तयार हुन्थें, स्कूल जान्थें । यति गर्दा मलाई लाग्थ्यो कि म कुनै युद्धमा गइरहेको छु । मलाई कक्षाकोठादेखि रिस उठ्थ्यो ।सात कक्षामा आइपुग्दासम्म त म दिनभरी प्रधानाध्यापकको अफिसमा बस्थें । म झगडा गर्थें, म जोक्कर थिएँ, पूरा कक्षालाई नै डिस्टर्ब गर्थें । मलाई स्कूलबाट निकालियो पनि ।

तर म भित्रि रुपमा त्यस्तो थिइनँ । म त्यस्तो बन्नै चाहन्नथें । म राम्रो विद्यार्थी बन्न चाहन्थें । बन्न मात्र सकिरहेको थिइनँ ।तर आठ कक्षा पुग्दा नपुग्दै म आफू र परिवारलाई लज्जित बनाउँदा बनाउँदै थाकिसकेको थिएँ । त्यसपछि मैले निर्णय गरें – अब म राम्रो व्यवहार गर्नेछु ।म खेलाडी बन्न चाहन्थें । ममा खेलाडीको प्रतिभा थियो । मेरो गणित राम्रो थियो । स्कूल जानुअघि नै मैले पैसा गन्न सिकिसकेको थिएँ ।म आफ्नो नाम लेख्न सक्थें र केही शब्द पनि तर पूरा वाक्य म लेख्नै सक्दिनथें । म हाई स्कूलमा थिएँ तर दुई तीन कक्षाको बच्चाको स्तरमा मात्र पढ्न सक्थें । मैले कहिले पनि कसैलाई भनिनँ कि म पढ्न सक्दिनँ । 

धोकाले पास भइरहेंः परीक्षाका बेला म अरु विद्यार्थीको पेपर हेर्थें वा अरु कसैलाई आफ्नो पेपर लेख्न दिन्थें । तर जब म खेलको छात्रवृत्तिमा कलेजमा भर्ना भएँ तब यसो गर्नु मेरा लागि सजिलो थिएनँ ।पुराना प्रश्नपत्र भेटिन्थे । परीक्षाबाट पार पाउने यो पनि एउटा तरिका थियो । कुनै यस्ता पार्टनरसँग क्लासमा जान्थें जसले मेरो मद्दत गर्न सकोस् । थुप्रै प्रोफेसर यस्ता थिए जो हरेक वर्ष पुरानै प्रश्नपत्र प्रयोग गर्दथे ।एकपटक एक प्रोफेसरले चारवटा प्रश्न बोर्डमा लेखे । म ‘लास्ट बेन्चर’ थिएँ । नजिकै झ्याल पनि थियो ।मसँग मेरो निलो उत्तर–पुस्तिका थियो र मैले चारवटै प्रश्न लेखें । मलाई थाहा थिएन ती प्रश्नको अर्थ के हो ।

मैले सुरुमा नै आफ्ना एक साथीलाई झ्याल बाहिर राखिसकेको थिएँ । उनी सबैभन्दा तेज विद्यार्थी थिए ।मैले झ्यालबाटै उनलाई जवाफ लेख्नका लागि आफ्नो उत्तर पुस्तिका दिएँ ।मैले सर्ट भित्र अर्को उत्तरपुस्तिका लुकाएको थिएँ, मैले त्यसलाई निकालें र लेखेको नाटक गर्न थालें ।म जसरी पनि पास हुन चाहन्थें ।त्यसपछि एकपटक मैले राती प्रोफेसरको अफिसमा छिरेर प्रश्नपत्र चोरी पनि गरें । चोरी गरेपछि त सुरुमा म खुसी भएँ । यति गाह्रो काम गर्न सकेको भन्दै आफू निकै चलाख भएकोमा गर्व पनि गरें । तर त्यसपछि घरमा आएर रुन थालें । मैले किन कसैको मद्दत मागिनँ । कसैले पनि मेरो मद्दत गर्न सक्दैन । कसैले पनि मलाई पढ्न सिकाउन सक्दैन भन्ने कुराहरु दिमागमा चलिरहन्थ्यो । मेरा अध्यापकले मेरा आमा–बुवालाई कलेज डिग्रीपछि राम्रो जागिर पाइन्छ भनेका थिए । मैले पनि यही कुरामा विश्वास गरें । मेरो दिमागमा डिग्रीको कागज हाँसिल गर्नु थियो ।

मैले शिक्षकको जागिर पाएँः  ग्रेजुएशन पनि भयो । कलेजमा अध्यापकको पनि कमी थियो, त्यसकारण मैले अध्यापकको जागिरको प्रस्ताव पाएँ । यो निकै अचम्मको कुरा थियो, जुन समस्याबाट म बल्लतल्ल निस्किएकाउ थिएँ, म पुनः त्यही दलदलमा फस्न जाँदै छु ।मैले यो जागिर किन खाएँ रु स्कूल र कलेजमा मबारे कसैलाई पनि थाहा भएन त्यसकारण मलाई शिक्षकको जागिरमा लुकिरहने राम्रो विकल्प लाग्यो । कसलाई शंका लाग्ला कि एक शिक्षकलाई पढ्नै आउँदैन भनेर ।मैले धेरै कुरा पढाएँ । मैले खेल सिकाएँ । सोसल साइन्स विषय पनि पढाएँ । मैले टाइपिङ पनि सिकाएँ । म एक मिनेटमा ६५ शब्द टाइप गर्दथें तर के टाइप गरिरहेको छु भन्ने चाहिँ थाहा हुँदैनथ्यो । मैले कहिले ब्ल्याकबोर्डमा लेखिनँ । हामी कक्षाकोठामा धेरै फिल्म हेर्दथ्यौं र विभिन्न कुरामा चर्चा परिचर्चा पनि गर्दथ्यौं ।

यसैबिच मेरो विवाह पनि भयो । मैले विवाह अघि आफ्ना बारे श्रीमतीलाई बताउने सोचें । मैले उनलाई आफू पढ्न नसक्ने बारे बताएँ । तर उनले मलाई किताबमा रुची नभएको होला भन्ने बुझिछिन् ।विवाह भयो र हाम्री छोरी पनि भइन् । एकदिन जब म तीन वर्षकी छोरीलाई किताब पढेर कहानी सुनाइरहेको थिएँ तब मेरो गोप्य कुरा श्रीमतीसामू छताछुल्ल भयो ।मैले आफैंले कहानी बनाएर उनलाई सुनाइरहेको थिएँ किनभने किताबको कहानी म पढ्न सकिरहेको थिइनँ ।जब मेरी श्रीमतीले त्यो सुनिन् तब उनलाई मेरोबारे सबैकुरा स्पष्ट भयो । तर उनले मलाई केही पनि भनिनन्, मेरो मद्दत गरिन् ।मलाई म नालायक लाग्थ्यो । आफू धोकेबाज लाग्थ्यो । म आफ्ना बच्चालाई साँचो बोल्नुपर्छ भनेर सिकाइरहेको थिएँ जबकी म आफूले नै सबैभन्दा ठूलो झुटो बोलिरहेको थिएँ ।

अन्त्यमा मैले पढ्न सिकेंः मैले सन् १९६१ देखि १९७८ सम्म हाई स्कूलमा पढाएँ । जागिर छोडेको ८ वर्षपछि मेरो जीवनमा परिवर्तन आयो ।तब म ४७ वर्षका थिएँ जब मैले अमेरिकाका उप–राष्ट्रपतिकी पत्नी बारबरा बुशले टेलिभिजनमा वयस्कको शिक्षामाथि बोलिरहेको सुनें । मैले यसअघि कसैले पनि यसबारे बोलेको सुनेको थिइनँ । मलाई लाग्थ्यो कि म एक्लो व्यक्ति हुँ जसलाई यस्तो समस्या छ ।एक दिन एक स्टोरमा दुईजना महिला आफ्ना वयस्क भाइको पढाईको विषयमा कुरा गरिरहेका थिए । पढ्न सिक्नका लागि उनीहरुको भाइ लाइब्रेरी जाने गरेको मैले सुनें ।एक शुक्रबार म पनि लाइब्रेरी गएँ र साक्षरता कार्यक्रमका निर्देशकलाई भेटें । मैले उनलाई आफू पढ्न नसक्ने बारे बताएँ ।मेरो जीवनका ती दोस्रो व्यक्ति थिए जसलाई मैले यो गोप्य कुरा बताएको थिएँ ।मैले त्यहाँ ६५ वर्षकी एक ट्युटर पाएँ । उनी शिक्षिका थिइनन् तर उनलाई पढ्न मन पर्दथ्यो ।सुरुवातमा उनले मलाई मनमा लागेको कुरा लेख्न आग्रह गरिन् । मैले सबैभन्दा पहिले एउटा कविता लेखें । जसबारे म महसुस गर्दथें त्यसमाथि कविता लेखें । कविताको विशेषता के छ भने यसमा तपाईंले पूरा वाक्य  ख्नुपर्दैन ।मेरी ट्युटरले ६ कक्षाको स्तरसम्मको पढ्न सिकाइदिइन् । तर त्यसको सात वर्षपछि मात्र आफू साक्षर भएको महसुस भयो । जब मैले पढ्न सिकें तब म निकै रोएँ । यो सिक्ने यात्रामा म निकै निराश भएँ, पीडा भयो तर मेरो आत्मामा परेको एउटा ठूलो खाल्डोलाई अब मैले पुरेको छु ।४८ वर्षसम्म म अन्धकारमा नै बसें । तर, अन्त्यमा मैले आफ्नो ‘भूत’ बाट छुटकारा पाएरै छोडें ।

बीबीसी संवाददाता साराह म्याक्डरमटसँगको कुराकानीमा आधारित

    Comment Here!


सम्बन्धित समाचार