एजेन्सी । हामी जो कोही कुनैपनि आफुलाई आवश्यक सामान किन्न जाँदा त्यसलाई नापी, जाँची, हेरिकोरी मात्र बोक्छौ । साहुजी एक जोर जुत्ता दिनुस् त’ भन्दै कहिलैपनि थपक्क पोको पारेर लिएर हिँड्दैनौँ । त्यसको साईज एकिन गरेर ब्रान्ड छानेर मात्र किन्छौ । तर कण्डम किन्न जाँदा साहुजी कण्डम दिनुस् न कतिको यति रकम जाने । साहुजीलेपनि भरसक पोको पारेर लुकाएर नभएपनि अरुले देख्छन् की जसो गरेर लुकाएर तपाईको हातमा थमाई दिन्छन् । तपाईपनि त्यसलाई नहेरी थपक्क खल्ती वा झोलामा राख्नुहुन्छ । यो अधिकांशले गर्छन् । यो ठूलो गल्ती हो ।

राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, त्यसरी नै सही कण्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ । नेपाली बजारमा दसौंथरी कण्डमहरू उपलब्ध छन् । सरकारी या संघसंस्थाहरूले पनि कण्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कण्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्रै जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिङमा लगाइने कण्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस ‘सी’ लगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ ।

जुत्ता किन लगाउने त रु नांगै हिंडे पनि त भइहाल्यो नि रु भन्नेहरूलाई तपाईं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कण्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच, यौनसाथीका बीच, जुनसुकै बेला पनि कण्डमको प्रयोग जरुरी हुन्छ । हो, कण्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । माथि नै भनिसकियो, तपाईंले कण्डम छान्ने, कण्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरमसुखतर्फ लैजानेमा शंका गर्नुपर्दैन । कण्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ ।

विडम्बना, नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ र यसमा आवश्यक सबै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन् अनि प्रयोग गरिएको रबर, सिलिकन, ल्युब या अन्य पदार्थहरू उपर्युक्त छन् कि छैनन् भन्ने बारेमा नेपालमा जाँच हुँदैन । बजारमा पाइने सबै कण्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटेक्स (रबरबाट प्राप्त गरिने पदार्थ) कण्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्ट्रसनका मानकहरू पूरा गर्नै पर्दछ ।

यो भनेको कुनै एउटा ब्याजको कण्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनुपर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँचगर्दछ । हामीकहाँ अमेरिकामा उत्पादन हुने कण्डमहरू पनि बजारमा छन् । कतिपय कण्डमहरू भारतबाट आयात हुन्छन् । कुन कम्पनीको कण्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयमले यसमा सचेत हुनुपर्ने अवस्था छ । अनुदानमा बाँडिने कण्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।

साइजको कुरा गर्दा कण्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कण्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कण्डम उपलब्ध छन् । कण्डमभित्र प्रयोग हुने ल्युब या जेली (चिल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ ।

मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कण्डम पनि बनाइएका हुन्छन् । कण्डमबाहेक आफैंले अतिरिक्त ल्युब या चिल्लोपदार्थ प्रयोग गर्दा सबै खालको कण्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ । कुनै कण्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कण्डम कति प्रभावकारी हुन्छ भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन । कण्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईँले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नुपर्दछ । गुणस्तरीय कम्पनीको कण्डम किन्ने, यौन आनन्दलाई कण्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कण्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कण्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

सम्बन्धित खबरहरु