काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डललाई आज बालुवाटारमा सम्बोधन गर्दै उहाँले देशको विकासका लागि हिमाल पहाड तराईका जनता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले विकासका लागि अरूको मुख ताक्ने र दोष अरूलाई दिएर आफू उम्कन नहुने भन्दै विकासका लागि आफैँ अग्रसर हुनुपर्ने बताउनुभयो ।

तराईको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकाले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनुपर्छ, उहाँले भन्नुभयो, “सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागिपरेको छ ।” प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ति सम्भव हुने बताउँदै देशमा प्रशासनिक खर्च धेरै भएर विकासमा केही कठिनाइ भएको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिँचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीसंग आग्रह गर्नुभयो ।

त्यसैगरी शिक्षा तथा खेलकूद, महिला हिंसा, अन्तर्राष्ट्रियस्तरको सभाहल तथा प्रधानमन्त्री तराई मधेश विशेष कार्यक्रम सञ्चालन गर्नपनि उनीहरुले प्रधानमन्त्रीसंग आग्रह गर्नुभयो ।

सम्बन्धित खबरहरु