आखिर आयो अन्तिम निचोड, भोलि साँझ ५ बजे एमाले–माओवादी पार्टी एकताको घोषणा


काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्तामा एकता सहमति जुटेको हो । सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि मदन भण्डारी स्मृति दिवस हो । एमालेका तत्कालीन महासचिव भण्डारीको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । मदन भण्डारी स्मृति दिवसको अवसरमा एमालेले कार्यक्रम गर्दैछ, जसमा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ ।

लगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बताएको छ । भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने दुई दलको तयारी छ । एमाले र माओवादीले १७ असोजमा गठबन्धन बनाएर चुनाव लड्ने सहमति गरेका थिए । त्यसअनुसार प्रदेश र प्रतिनिधिसभा चुनावमा ६० र ४० को भागवण्डाका आधारमा उम्मेदवार उठाए । प्रतिनिधिसभामा बहुमत पाएको वाम गठबन्धनले ६ वटा प्रदेशमा पनि सरकार बनाए । केन्द्रमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गरे लगतै ७ फागुनमा दुई दलका शीर्ष नेताहरुले पार्टी एकतासम्वन्धी सातबुँदे सहमति गरे । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेलिनवाद’ हुने सहमाति छ ।

दुई दलले कार्यदल बनाएर अन्तरिम राजनीतिक प्रतिवेदन र विधान पनि बनाएका छन् । तर, केन्द्रीय समितिको भागवण्डा लगायतमा सहमति हुन सकेन । बरु बेलाबेला दुई दलबीच खटपट देखियो । दुई अध्यक्ष ओली र प्रचण्डबीच थुप्रै वान टु वान वार्ता भएपछि एकअर्काप्रति विश्वासको वातावरण नबन्दा एकता हुन सकेको थिएन । यही कारण वैशाख ९ मा गर्ने भनिएको एकता हुन सकेन । तर, बुधबारको बैठकमा ब्रेक थ्रू भएको छ । एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘मैले दुबै अध्यक्षलाई सोधेँ, वर्क अन प्रोग्रेस भन्नु भएको छ । भोलि संयोजन समितिको बैठकले टुंगो लगाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्