काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा चुनिएका छन् । यो खेल ३१ मेमा इंगल्याण्डको लर्डसमा हुनेछ । बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ । किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।

खेल वेस्ट इन्डिजको क्यारेबियनमा गएको वर्ष हुरिक्यान आँधीका कारण जीर्ण बनेको स्टेडियम पुनः निर्माणका लागि हुन लागेको आईसीसीले जनाएको छ । वेस्ट इन्डिज टी ट्वान्टी विश्वकप विजेता टोली हो । जसमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् । आईसीसी ‘वर्ल्ड ११’ मा परेको जानकारीपछि प्रतिक्रिया दिँदै सन्दिपले भनेका छन्, ‘वेस्ट इन्डिजविरुद्ध खेल्न आईसीसी ‘वर्ल्ड ११’ मा परेर मलाई निकै खुशी लागेको छ । यो नेपाल र नेपालका सबै क्रिकेट समर्थकका लागि खुशीको कुरा हो । यसले नै अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको खुबीलाई पनि प्रस्ट पार्नेछ ।’

‘आफूले टेलिभिजनमा मात्र देखेका खेलाडीसँग डे्रसिङ रुम सेयर गर्ने, अभ्यास गर्ने र खेल्ने मौका मेरा लागि ठूलो छ । यो अवसरको फाइदा उठाउँदै म धेरै कुरा सिक्नेछु’ उनले आईसीसीसँग भनेका छन् । ‘लर्डस, क्रिकेटको घरका बारेमा म के नै भन्न सक्छु र । यो क्रिकेटको एउटा पूर्ण इतिहास हो । अनि सबै क्रिकेटरका लागि एउटा सपनाको मैदान । सन् २०१६ मा त्यहाँ खेल्न पाउनु नै मेरा लागि ठूलो अवसर थियो । जुन फेरि दोहोरिने भएको छ । मलाई आउने दिनमा पनि यस्ता अवसरहरु पाउँछु भन्ने विश्वास मिलेको छ । यसका लागि म मेहनत पनि गर्नेछु । जसले मलाई मेरो क्रिकेट विकासमा सहयोग पुग्नेछ ।’उनले सन् २०१६ जुलाईमा लर्डसमै एमसीसीविरुद्ध खेल्दा २५ रन खर्चेर एक विकेट लिएका थिए । त्यो खेलमा नेपाल विजयी भएको थियो । सन् २०१४ मा त्यस समयका नेपाली राष्ट्रिय टिमका प्रशिक्षक पुबुदु दासानायकेले चितवनको क्याम्पाचौरबाट सिधै राष्ट्रिय टिममा ल्याएदेखि नै सन्दिपले आफूलाई प्रमाणित गरिरहेका छन् ।

डिभिजन २ र विश्वकप छनोटमा उत्कृष्ट खेल देखाएका सन्दिपले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट खेलेर पनि नेपाली क्रिकेटमा इतिहास बनाएका छन् । उनी वेस्ट इन्डिजमै हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा पनि परेका छन् । आउँदो २९ जुलाईमा नेपाली राष्ट्रिय टिमले पनि लर्डसमा टी–२० सिरिज खेल्दै छ । मेरिलोबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाल र नेदरल्याण्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने यसअघि नै पक्का भएको हो ।

सम्बन्धित खबरहरु