काठमाडौ । साँझ छ बजेर केही मिनेटमात्र भएको थियो । नारायणगढको पुलचोकमा एकजना अधवैंशे मानिसले गाडीबाट ओर्लेर हस्याँङ्फस्याँङ गर्दै टेलिफोन खोज्न थाल्यो । त्यतिवेला अहिलेजस्तो हातहातमा मोबाइल थिएन, ल्याण्डलाइनकै भर, त्यो पनि कतैकतैमात्र । उनी पुलचोकको एउटा कोल्डस्टोर, जसले टेलिफोन सेवा दिने गरेको थियो, मा पुगेर एसटीडी गरौं है ? भनेर सोधे । पसलेले गर्नुस् भनेपछि उनले दुई–तीन वटा नम्बरमा फोन डायल गरे । कुरा २०५० साल जेठ २ गतेको हो । ‘कमरेड, म अमर लामा । हाम्रो गाडी दासढुंगा भन्ने ठाउँबाट त्रिशूलीमा खस्यो । कमरेड मदन र जीवराज पनि गाडीमै हुनुहुन्थ्यो, गाडी बेपत्ता छ । गाडी पल्टँदा म चाँही पाखामा खसेछु । अहिले नारायणगढको पुलचोकमा आएर फोन गरेको ।’ उसले एक श्वासमा भन्न भ्यायो । उसले कोसँग कुरा गरेको हो र उताबाट के भने मैले बुझ्ने कुरा भएन । दिउसोदेखि नै पानी पर्लाजस्तो भएर दिन घुर्माइलो थियो । दुर्घटनाको समाचारले मनमा नरमाइलो लाग्यो तर मैले घटनाको बारेमा खासै चासो दिइनँ । साँझ पर्न लागेकाले घर जान हतार थियो । त्यसैले म सरासर अफिस फर्किएँ । अफिस फर्कनासाथ दासढुंगा दुर्घटनामा नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित परेको थाहा पाएँ । त्यो सुनेपछि म स्तब्ध भएँ । केही मिनेटमै नेकपा एमाले चितवनका नेता देवी ज्ञवाली आइपुग्नु भयो ।

त्यतिबेला अहिलेजस्तो बाक्लो सवारीसाधन थिएनन् । सबैका घरमा साइकल हुन्थे, मोटरसाइकल कसैकसैको मात्र । गाडी हुनेहरु त औंलामा गन्न सकिन्थे । हामीहरु साइकल चढ्थ्यौं, साइकलमा दासढुंगा पुग्न कम्तीमा पनि एक घण्टा लाग्थ्यो । देवीजीलाई जतिसक्दो छिटो दासढुंगा पुग्नु थियो । हाम्रो अफिसमा मोटरसाइकल थियो तर देवीजीले मोटरसाइकल चलाउन नजान्ने । म पनि सिकारु, लाइसेन्स पनि थिएन । हाम्रो अफिसकै साथी भीम पाण्डे, देवी ज्ञवालीलाई पुर्‍याउन दासढुंगा जानुभयो । आफूलाई मनपर्ने नेता दुर्घटनामा परेको कुरा सुन्दा कतिखेर दासढुंगा पुगौंजस्तो भयो, तर त्यहाँ पुग्ने हामीसँग अरु कुनै उपाय थिएन । अफिस बन्द गरुन्जेलमा झमक्क साँझ परिसकेको थियो त्यसैले मन अमिलो बनाउँदै घरतिर लाग्नु पर्‍यो । घटनाबारे साँझ रेडियोले केही भन्ला कि भनेर सुनियो । रेडियो नेपालले नेता चढेको गाडी दुर्घटना भएको र अरु कुरा पत्ता नलागेको बतायो । अहिलेजस्तो छिनछिनमा समाचार दिने एफएम रेडियो, अनलाइन सेवा र टेलिभिजनहरु थिएनन् । बीबीसी सुन्न पनि धौधौ पर्थ्यो । त्यो दिन बीबीसीले पनि खासै समाचार दिएन । रातभरी छटपटी भइरहृयो, नेताहरुलाई के भयो होला ? मनमा अनेकन आशंकाहरु खेलिरहृयो । रातमा अबरेसम्म निद्रा पनि लागेन । विहानपख झिमिक्क निदाइएछ, उठ्दा घाम छिप्पिसकेको थियो । आमाले दिनुभएको एक गिलास दूध र बिस्कुट च्यापेर म घरबाट दासढुंगाको लागि हिँडे । साइकलमा जाँदै गर्दा बाटोमा केही साथीहरु भेटिनु भयो । हामी दासढुंगा पुग्दा बिहानको आठ बजिसकेको थियो ।

हामी दासढुंगामा पुग्दा त्यहाँ मान्छेको भीड लागिसकेको रहेछ । केही प्रहरी, एमाले पार्टीका नेता कार्यकर्ता र केही स्थानीय व्यक्तिहरु सडकबाट त्रिशूलीसम्म, नदी किनारमा ओहोरदोहार गर्दै थिए । नदीको तलमाथि साना डुंगाबाट खोज्ने काम भएको रहेछ । त्यहाँ जम्मा भएकाहरुले नदी किनारमा ओहोरदोहोर गर्नु र एकआपसमा मुखामुख गर्नु शिवाय गर्ने कुनै काम थिएन । घटनास्थल वरपर भेटिएका धानको भुसको थुप्रा र कठीन पहाडी बाटो कटेर समथरमा आइसकेपछि भएको दुर्घटनाले धेरैको मनमा आशंका उब्जाइरहेको थियो । दुर्घटनास्थल निकै अप्ठेरो खोँच परेको ठाउँमा थियो । त्रिशुली नदीको बहाव एकदमै तीव्र छ, त्यसमाथि पनि दुर्घटनास्थलमा नदीको खोँच र भुमरी परेको छ । यस्तोमा सामान्य मानिसले पाखाबाट छामछुम पार्नुबाहेक केही गर्न सकिन्नथ्यो । त्यसका लागि शक्तिशाली क्रेन आवश्यक पर्दथ्यो । दिउँसो ११ बजेतिर एउटा क्रेन आयो । त्यसले निकैबेरको प्रयासपछि नदीबाट दुर्घटनामा परेको जीप फेला पार्‍यो । अपरान्ह दुई बजेतिर टुचिनको सहायताले जीपलाई बाहिर निकालियो । बा।अ।च। ८७२३ नम्बरको जीप ठोक्किएर कच्याककुचुक परेको थियो । जीवराज आश्रितको शव जीपमै भेटियो तर मदन भण्डारीको अवस्था अझै अज्ञात । यसले घटना रहस्यमय छ कि भन्ने आशंकालाई अझ बढावा दियो ।

दुर्घटनास्थल नजिक त्रिशूली नदीमा गोताखोरहरु पठाएर खोजी गर्न लगाइयो । प्रहरी र स्थानीय नेता कार्यकर्ताहरुले डुंगाबाट नदी किनारमा शव खोज्ने काम गरे । तर, सारा प्रयासहरु असफल भैरहे । तेश्रो दिन गुञ्जनगरको गाँजीपुर नजिक नदी किनारमा एउटा लाश भेटिएको खबर आयो । नभन्दै त्यो लाश मदन भण्डारीको रहेछ । पानीले ढाडिएको, सर्टका अधिकांश टाँकहरु जस्ताकोतस्तै छन् तर पाइन्ट खुस्केर पेन्टीमात्र लगाएको अवस्था । पाइन्टमा टाँक त लगाएकै हुन्छ, त्यसमाथि मदन भण्डारीले सधैं बेल्ट कस्नुहुन्थ्यो । घटनास्थलमा पाइन्ट र बेल्ट भेटिएन । यस्ता दुर्घटनामा धेरैका सर्ट खुस्कन्थे तर पाइन्ट कमैकोमात्र हराउने जानकारहरु बताउँछन् । पाइन्ट हराएको अवस्थामा पेन्टी पनि कमैमात्र भेटिने उनीहरुको दावी छ । तर, यो दुर्घटनामा सबै अपवादमात्र भैरहेको थियो । घटनाका एकमात्र साक्षी चालक अमर लामा जिउँदै थिए, तर उनी प्रहरी हिरासतमा । उनको व्यवहार पनि अलि फरक खालको थियो । त्यत्रो दुर्घटनामा उनी कसरी सकुशल रहन सके रु, चालक अमर लामाले जीपसँगै म पनि नदीमा खसें भनेका छन् तर उनलाई कुनै चोटपटक लागेको छैन । सडकबाट करिव ५० मिटर तल गुल्टिँदै गएको जीपको ड्राइभर कसरी सकुशल रहन सक्छ रु घटना भैसकेपछि उनले त्यही हारगुहार गरेर खोजी गर्न थाल्नु पर्नेमा गाडी चढेर सुरक्षितस्थल नारायणगढमा किन गए रु उसका धेरै कुराहरु शंकास्पद देखिए ।

नेताद्वयको अन्तिम संस्कार गरेलगत्तै पार्टी ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ देशव्यापी आन्दोलनमा गयो । आन्दोलनबाट जनधनको क्षति भयो, ठूलो दबाव दिइयो । तर, पनि कांग्रेसको सरकारले सुनुवाइ गरेन । सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । निकै महिनापछि बल्ल सरकारले सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एउटा न्यायिक छानबिन आयोग गठन गर्‍यो । तर त्यो आयोगको प्रतिवेदनलाई एमालेले स्वीकारेन ।जनस्तरबाट गठन गरिएको भनिएको पद्मरत्न तुलाधरको आयोगले दासढुंगा काण्डलाई षड्यन्त्र नै ठहर गर्‍यो । पार्टीको तर्फबाट गठन गरिएको केपी ओली आयोगको प्रतिवेदनले पनि त्यस्तै भनेको छ । अनिल आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वोच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भयो । त्यो आयोगले पनि घटनाको यकिन गर्न सकेन ।

उक्त दुःखद घटना भएको आज २५ वर्ष भयो तर अहँ, यसको अझैसम्म रहस्य खुल्न सकेको छैन । घटनाको एकमात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो घटना रहस्यमय रहेछ भन्ने कुरालाई थप बल प्रदान गरेको छ । अमर लामाको २०६० साउनमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले कीर्तिपुरमा गोली हानी हत्या गरेका थिए । यस घटनामा सरकार, भारत र पश्चिमाहरुको पनि हात रहेको आँकलन गरिए । पार्टीभित्रको अन्तर संघर्षले उनीहरुको ज्यान गएको भन्नेहरु पनि कम रहेनन् । त्यसपछि भएको मध्यावधि चुनावमा संसदको ठूलो दल बनेर एमालेले नौ महिनासम्म अल्पमतको सरकार बनायो । लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा पनि एमालेको बलियो उपस्थिति थियो । २५ वर्षको अवधिमा नेकपा एमाले पटकपटक गरेर १० पटकसम्म सरकारमा गएको छ । तर आफ्ना प्रिय नेताको रहस्यमय मृत्युको कारण खोज्ने काम भएको छैन । यतिखेर नेकपा एमालेको नेतृत्वमा बलियो सरकार छ । त्यतिबेला पार्टीले गठन गरेको छानविन आयोगका अध्यक्ष केपी शर्मा ओली स्वयम् प्रधानमन्त्री र पार्टीका अध्यक्ष पनि छन् । मदन पत्नी विद्यादेवी भण्डारी मुलुककै सर्वोच्च पदमा विराजमान छिन् । ढिलै भए पनि यो घटनाको रहस्य खोज्नै पर्दछ । त्यतिखेर ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाउने एमालेका कार्यकर्तापंक्ति, आन्दोलनका क्रममा मारिएकाहरुका परिवार र घाइतेहरुले यसको उत्तर खोजिरहेका छन् । जनक अर्यालद्धारा अनलाईन खबरमा लिखित साभार गरेका हौ ।

सम्बन्धित खबरहरु