काठमाडौं । ‘उत्कृष्ट खोज, वाह् क्या खेलाडी’ इन्डियन प्रिमियर लिग (आईपीएल) मा अन्तिम खेलमा जित हात पारेपछि दिल्ली डेयरडेभिल्सले सन्दिप लामिछानेको तस्वीर ट्वीट गर्दै लेखेको छ ।साँचै सन्दिप दिल्लीका लागि उत्कृष्ट छनोट बने । सुरुवाति ११ खेलमा बेञ्चमा विताएका १७ वर्षे नेपाली युवकले जब मौका पाए, आफूलाई प्रमाणित गरे । अन्तिम खेलको प्रदर्शन त ‘सुपर’ नै रहृयो । आईपीएल अरु खेलाडी जस्तै सन्लिपको पनि सपना थियो । अक्सनमा बोली लागेपछि उनको दिल्ली यात्रा त पक्का भयो तर, खेल्न पाउने नपाउने ठूलो संसय थियो । किनभने हरेक टिममा एकसेएक खेलाडीहरु थिए ।

दिल्लीमा पनि ट्रेन्ट बोल्ड, अमित मिश्र, मोहम्मद सामी, लिम प्लंकेट, हर्सल पटेलदेखि दक्षिण अफ्रिकाका जुआन डाला लगायतका थुप्रै बलर थिए । भारतकै अभिशेक शर्मा, साहब नदिम पनि दिल्लीको टिममा अवसरको पर्खाइमा थिए । त्यसैले होला सन्दिपले ११ खेल बेञ्चमा विताए । तर, जब दिल्ली प्ले अफमा पुग्ने सम्भावना टर्‍यो, सन्दिपको भाग्य खुल्यो । दिल्लीको बाँकी तीन वटै खेलमा सन्दिपले खेल्ने मौका पाए । आफूले पाएको मौकामा खरो उत्रिएका उनले प्रतियोगिताका अन्तिम खेलमा तीनसहित ५ विकेट लिए ।

आफ्नो पहिलो खेलमा उनले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । खेलमा दिल्ली ५ विकेटले पराजित भएपनि सन्दिपको बलिङको भने तारिफ भयो । दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका उनी ‘स्टाइलिस प्लेयर अफ द म्याच’ नै भए । सन्दिपले महेन्द्र सिंह धोनी र सुरेस रैनाको साझेदारी तोडेको खेलमा दिल्ली ३४ रनले विजयी भयो । दिल्लीका लागि चेन्नईविरुद्धको जित ठूलो थियो । लगातार दुई खेलमा राम्रो प्रदर्शन गरेका सन्दिप अन्तिम खेलमा निर्विकल्प बने । र, त्यसलाई उनले प्रमाणित पनि गरे । अन्तिम दिनको खेल चलिरहँदा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले सन्दिपको समर्थनमा ट्वीट गरेका थिए, ‘निकै राम्रो गर्‍यौ, अझै धेरै अघि जानु छ ।’

साच्चै मुम्बईको प्ले अफको बाटो बन्द गर्न सन्दिपको भूमिका महत्वपूर्ण रहृयो । दिल्लीको पहिलो ओभर नै बलिङ गर्न आएका उनले १३ रन खर्चेर १ विकेट लिए । त्यसपछि १० औँ ओभरमा बलिङमा आएका उनले ६ रन खर्चेर २ विकेट लिए । तेस्रो ओभरमा १३ रन खाएका उनले चौथो ओभरमा ४ रन मात्रै खर्चिए । ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । त्यसले मुम्बईमाथि थप दबाब बनाउन महत्वपूर्ण सावित भयो । खेलमा दिल्ली ११ रनले विजयी भयो । खेलपछि दिल्लीका कप्तान श्रेयस ऐयरले सन्दिपको बलिङ उत्कृष्ट रहेको र जितको आधार भएको प्रतिक्रिया दिए । विश्वकै सबैभन्दा महंगो र चर्चित क्रिकेट लिगमा उनले आफूलाई मात्र प्रमाणित गरेनन्, नेपाली खेलाडीको खेल स्तर विदेशी भूमिमा बुझाए । र, सुरुका खेलमा दिल्लीले सन्दिपलाई खेलाउँदा नतिजामा फरक पर्ने समर्थकको भनाइलाई सत्य सावित गरिदिए ।

टेलिभिजन स्कीनमा सन्दिपको खेललाई नियालेका राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले भने सन्दिपको खेल ‘सुपर’ रहृयो । उसले मौका पायो भने राम्रो गर्छ भन्ने विश्वास आफूमा रहेको र पाएको मौकामा राम्रो खेलेको उनले बताए ।
आईपीएलमा मुम्बईविरुद्ध सन्दिपले लिए ३ विकेट
विश्वकै उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्नु र विश्वास जितेर पहिलो ओभरमै आउनु सानो कुरा नभएको उनी बताउँछन् । ‘सुरुमा एउटा नेपालीले राम्रो प्लेटर्फम पायो त्यो राम्रो हो भन्ने थियो । अहिले उसको खेलले झनै राम्रो अवस्था देखाएको छ’ उनले भने, ‘उसले ‘न्याचुरल’ खेल देखायो । खेल्न पायो भने विकेट लिन्छ भन्ने विश्वास थियो ।’ यसले सन्दिपलाई भविष्यका लागि थप चुनौती थपेको प्रशिक्षक टमाटा बताउँछन् । ‘त्यो स्तरमा खेल देखाएपछि उसमा अझ राम्रो गर्नुपर्ने चुनौती थपिएको छ । नेपाली टिममा पनि अझ राम्रो गर्नुपर्छ’ उनले भने । सन्दिपले आईपीएलमा गरेको १२ ओभरमा ८२ रन खर्चिएर ५ विकेट लिएका हुन् । उनको इकोनोमी ६.८३ र एभरेज १६.४० रहृयो । २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई टिममा आबद्ध गर्दा जुन अपेक्षा गरेको थिएन, आफू त्यो अपेक्षालायक भएको उनले देखाए । अनलाईनखबरडटकमबाट

सम्बन्धित खबरहरु