लुना खतिवडा / महिला र वातावरणका सवालहरु विश्लेषण गर्दा विश्वव्यापि रुपमा १९६० को दशकबाट आर्थिक विकाससँगै वातावरण क्षेत्रमा महिलाको चासो बढ्न थालेको देखिन्छ । ८० को दशकमा वातावरणीय मुद्दाहरुको नीतिगत तहमा लैंगिक विषयहरु पनि सामबेश भए । बेइजिङमा सम्पन्न भएको चौथो विश्व महिला सम्मेलन १९९५ ले छुट्याएको बाह्र वटा महत्वपूर्ण क्षेत्र मध्ये महिला र वातावरण पनि एक हो । वातावरण र दिगो विकासका नीति तथा कार्यक्रमहरुका सबै तहमा महिलाहरुको सशक्त सहभागिता हुनुपर्छ भनि उल्लेख गरिएको सो सम्मेलन आयोजना भएको २३ वर्ष भइसक्यो तर नेपालको परिप्रक्ष्यमा महिलासँग प्रत्यक्ष जोडिएका विकास र वातावरण विषयहरुमा सहभागिता मात्र होइन बहस तथा छलफल पनि त्यति सशक्त ढंगले हुन सकेको छैन ।

वातावरण संरक्षण र संवद्र्धनमा परापूर्वकालदेखि समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । समुदायभित्र पनि महिलाहरुको वातावरणप्रति ठूलो योगदान छ यो अर्थमा कि वातावरण संरक्षण र प्रदुषणको पहिलो प्रभाव महिलामा नै पर्छ । नेपाली समाजमा घरभित्रको काम प्रायः महिलाले गर्नुपर्छ । दाउरा बालेर खाना पकाउने अधिकांश जनसंख्या रहको हाम्रो देशमा धुँवासँग लुकामारी गर्नुपर्ने बाध्यता पनि महिलामा नै छ । हरेक दिनका क्रियाकलापमा वातावरणीय विषयहरु सँगसँगै जोडिएका हुन्छन् चाहे खानेपानी र सरसफाइमा होस् चाहे वनजंगलमा वा खेतीपातीमा । तर अझै पनि धेरै नेपालीलाई खुला ठाउँमा दिशा गर्न हुन्न, चर्पी प्रयोग गर्नुपर्छ भनेर सिकाइरहनु परेको छ । सरकारले साबुन पानीले हात धुन सिकाउने कार्यक्रमहरु चलाइरहेको छ । बच्चाको दिशा धोएर राम्ररी आफ्नो हात नधोएकि आमा त्यही हातले बच्चालाई भात खुवाउछिन् र विरामी भएर अस्पताल पुगेपछि बल्ल सरसफाइको अभावको कारण भनेर थाहा हुन्छ । यस्तो दयनीय अवस्थामा वातावरणीय न्याय र पहुँच कति टाढाको विषय होला ?

महिला र वातावरणको बारेमा लेखिरहँदा विश्व उष्णीकरण र जलवायु परिवर्तनले महिलाहरुमा पारेको असरहरुका बारेमा पनि लेख्न जरुरी हुन्छ । किनकि जलवायु परिवर्तनको जोखिममा परेका गरिब समुदायहरुभित्र पनि महिलाहरु नै सबै भन्दा बढि प्रभावित हुन्छन् । तापक्रममा आइरहेको परिवर्तन, लामोसमयको खडेरी, नियमित वर्षामा गडबढी जस्ता कारणहरुले जनजीविकामा परिरहेको प्रभाव हामीले प्रत्यक्ष देखेभोगेका नै छौं । लैंगिक आधारमा कुरा गर्दा जलवायु परिवर्तनको असर महिला र पुरुष दुवैमा पर्ने भए पनि घरपरिवार र कृषि क्षेत्रमा अनिवार्य भूमिकाका कारण महिलाहरुले पुरुषको दाँजोमा बढि जोखिम वहन गरिरहेका छन् । जलवायुजन्य विपद्हरुमा पुरुषको तुलनामा महिलाहरु नै बढि मृत्युको शिकार बन्छन् भने विपद पछिको समयमा पनि उनीहरु असुरक्षित हुन्छन् । बाढीले घर डुबानमा परेको हुन्छ , पहिरोले सबै बगाएको हुन्छ तैपनि परिवारलाई पकाएर ख्वाउने जिम्मेवारी महिलालाई नै हुन्छ । यो हाम्रो तीतो सत्य हो । २०७२ को भूकम्प पछि शिविरमा बसेका महिलाहरुलाई सुरक्षित चर्पी नहुदा, महिनावारीका बेला समयमा र सहज रुपमा कपडा÷प्याड बदल्न नपाउँदा, पर्याप्त पानी नहुदा र सुत्केरी महिलाहरुलाई सुरक्षित ओछ्यान नहुदा कति समस्या भएको थियो होला ? यो अनुमान पुरुषहरुले गर्न सक्लान् र ?

औद्योगिक र प्रदुषक राष्ट्रहरुले वायुमण्डलमा उत्सर्जन गरेको हरित गृह ग्यासको मार हामीजस्ता अति कम विकसित राष्ट्रहरुले भोगिरहेका छौं । राष्ट्रिय अनुकुलन कार्यक्रमलाई आधार मान्ने हो भने जलवायु परिवर्तनले सबैभन्दा धेरै जोखिममा परेका जिल्लाहरुमा काठमाडौं, रामेछाप, उदयपुर, लमजुङ, मुगु लगायतका जिल्लाहरु अग्रपंतिmमा छन् । रामेछाप, काभ्रे लगायतका जिल्लाहरुमा खानेपानीको चरम अभाव भइरहेका घटनाहरु सञ्चार माध्यमबाट बाहिर आएकै छन् । काठमाडौंमा खानेपानीको अवस्था कति दयनीय छ भनेर त पानी थाप्ने मान्छेहरुको लाइन देखेर सजिलै बुझ्न सकिन्छ । चाहे शहरमा होस् चाहे गाउँमा पानीको अभावको पहिलो शिकार महिलाहरु नै बन्छन् । किनकि घरभित्रको सबै काम गर्ने जिम्मेवारी उनीहरुलाई हुन्छ । वनक्षेत्रको विनाश, अनियमित वर्षा, लामो समयसम्मको खडेरी जस्ता कारणहरुले पानीका मूल सुक्दै जादैछन् , भूमिगत जलश्रोत घटिरहेको छ, कुवा, इनार, ढुंगे धारामा पानी सुक्दै गएका छन् । हिजोसम्म घरै अगाडिबाट पानी थाप्न सकिन्थ्यो अब पानीका लागि घन्टौं हिड्नुपर्ने, टाढा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हुन थालेको छ । पानी भएर मात्र हुन्न, शुद्ध र सुरक्षित पानी भएन भने समस्या त्यहींबाट शुरु हुन्छ । त्यसैले आफू र आफ्नो परिवारका लागि सुरक्षित पानी खोज्दा महिलाहरुको स्वास्थ्य जोखिममा परिरहेको छ । टाढा टाढाबाट पानी र दाउराको भारी बोक्नु पर्दा गर्भवति महिलाहरु झन् बढि समस्या भोगिरहेका छन् ।
परिवारका सबै सदस्यहरुले खाइसकेपछि महिलाहरु अन्तिममा खाना खाने नेपाली परम्परा रहिआएको छ। परिवार र बालबच्चाको स्वास्थ्यमा ध्यान दिंदादिंदै आफ्नो लागि आवश्यक क्यालोरीको मात्रा उनीहरुलाई पुगिरहेको हुदैन । पर्याप्त आहार नपुगेर कमजोर बनेका गर्भवति र सुत्केरी महिलाहरु खाद्य अभावका बेला कुपोषणको पहिलो शिकार बन्छन्। सुत्केरी महिलालाई पर्याप्त आहार पुगेन भने त्यसको प्रत्यक्ष प्रभाव बच्चामा पर्छ र कुपोषणका कारण बच्चाको शारिरिक र मानसिक विकास राम्रोसँग हुदैन। तापक्रम वृद्धिले गर्दा फैलिएका लामखुट्टेका कारण लाग्ने डेङ्गु, जापानिज इन्सेफलाइटिस, मलेरिया जस्ता रोगहरुले पनि कमजोर र कुपोषितहरुलाई नै गाँजिरहेको हुन्छ । सुरक्षित पानी, चर्पीको अभाव, सरसफाइको कमि जस्ता कारणहरुले फैलिने सरुवा रोगहरुको महामारीमा पनि महिला र बालबालिकाहरु नै परिरहेका हुन्छन् । यतिमात्र होइन जलवायु जन्य प्रकोपका कारण मानिसहरु विस्थापित हुनुपरेको र आन्तरिक द्धन्दमा फसेका उदाहरणहरु बढ्न थालेका छन् । समग्रमा हेर्दा जलवायु परिवर्तनबाट हुन सक्ने प्रकोपको प्रत्यक्ष र पहिलो प्रभाव महिला माथि नै पर्छ ।

नेपालका केही आदिवासी जनजाती समुदायभित्र महिलाहरुको पहुँच राम्रो छ । उनीहरु निर्णायक तहमा पनि सहभागि हुन्छन् । तर समग्र नेपाली महिलाहरुको अवस्था त्यस्तो छैन । वातावरणसँग जोडेर कुरा गर्ने हो भने महिलाको देन वातावरणमा धेरै छ तर त्यसलाई ध्यान दिएर विश्लेषण गरिएको छैन। जो गरिब छ, जोसँग क्षमता छैन, पहुँचका हिसाबले टाढा छ, उसलाई नै जलवायु परिवर्तन र प्रकाृतिक विपदले धेरै असर गरिरहेको हुन्छ । तर तिनीहरुका सवाललाई निर्णायक तहमा त्यति चासो राखेको पाइदैन । जलवायु परिवर्तनसँग गाँसिएका विभिन्न कार्यक्रमहरु महिलाहरुको सशक्त सहभागिता बिना उपलब्धीमूलक बन्न सक्दैनन्।

जलवायु परिवर्तनको प्रभाव कम गर्न अनुकुलन र न्युनीकरणका नाममा विदेशी दाताहरुले गरेको आर्थिक सहयोग र सरकार आफैंले तयार गरेका कार्यक्रमहरु प्रभावित समुदायहरुसम्म पुगेको छ कि छैन? कतै राजधानीका महँगा होटलहरुमा गरिने गोष्ठि र सेमिनारमै पो सिमित भइरहेको छ कि?शव्दमा जति नै राम्रराम्रा कार्यक्रमहरु बनाए पनि व्यवहारमा लागू नभएसम्म तिनको महत्व केही हुन्न। आधुनिकिकरण भनेर जति चिच्याए पनि धनी र गरिब बिचको खाडल घट्नुको साटो झन् बढिरहेको छ । प्राकृतिक श्रोतमाथि पहँचवालाहरुले जबरजस्ती हस्तक्षेप गरिरहेका छन् । भूमिको दिगो व्यवस्थापन हुन सकिरहेको छैन । त्यसमा पनि जमिनमाथि महिलाहरुको अधिकार एकदमै न्यून छ । जबसम्म महिलालाई दोश्रो दर्जामा राखेर व्यवहार गरिन्छ, उनीहरुलाई आर्थिक अधिकारबाट बञ्चित गराइन्छ तबसम्म देश प्रगतिको बाटोमा जान सक्दैन । भनिन्छ, शिक्षित र सचेत महिला भएको घरमा सबै शिक्षित हुन्छन्। यदि महिलाले वातावरण संरक्षण सम्बन्धि उचित शिक्षा पाउने हो भने प्रत्येक घरमा चेतनाको लहर फैलाउन सकिन्छ । त्यसैले महिलाको क्षमता विकासमा जोड दिने खाल्का कार्यक्रमहरु गाउँगाउँसम्म पु¥याउनुपर्छ । आर्थिक, सामाजिक र राजनैतिक अधिकारबाट उनीहरुलाई टाढा राखिनुहुदैन । स्थानीय तहमा मात्रै होइन राज्यको निर्णायक तहमा महिलाहरुको सशक्त सहभागिता हुन सकेमा निश्चय पनि स्वच्छ र समृद्ध देश बनाउन सकिन्छ ।

सम्बन्धित खबरहरु