लघुकथा / ओखती
गोमा सिटौला / माइतीघरको कुकुर पनि प्यारो हुन्छ भने झैं मनोहर दाइसँग ५ वर्ष पछी भेट भएकोले बिरणीमा हर्षको सिमा थिएन। मीठा मीठा धेरै परिकार बनाउन ब्यस्त थिइन्। ``पाहुना आउँदा खाइनसक्ने गरी यति धरै परिकार बनाउँनु हुँदैन ।´´-भान्सामा गएर मनोहरले बिरणीलाई भने

बिरणी भने सबै खानेकुरा खाइदिए हुन्थ्यो जसरी पस्किदै थिइन्। मनोहरले सुगर,प्रेसर र लिभरको बिरामी छु भन्दै सलाद बाहेक अरु खाना छुँदै छोएनन्।
``दादा, अलिअली खाए केही हुँदैन´´बिरणीले जबर्जस्ति प्लेटमा हाल्दै थिइन्
``एक्लो ज्यान भए त केही थिएन नानी अहिले तेरो भाउजू र भदा भदैनी छन् तिनीहरूको लागि भए पनि बाँच्नु पर्छ।´´मनोहरले यसो भन्दा विरणीले पुलुक्क आफ्नो श्रीमानलाई हर्दै हाम्रो भाउजू धेरै भाग्यमानी भनिन्।
``शरीरको शत्रु नै आहार-विहार हो। जिब्रोलाई सम्हाल्न सकिएन भने अनेकौं रोगको शिकार भइन्छ। ´´-मनोहरले ज्वाइँलाई सम्झाउँदै थिए
बिरणीको श्रीमान भने बियर फ्रीजमा राख्दै सितन बनाउन थाले।
``भालुलाई जति पुराण सुनाए पनि काम छैन दादा। जीवन वृक्ष हो र माली स्वयम हौं जिन्दगी आकर्षक या विकर्षक बनाउने हाम्रै हातमा छ।´´- बिरणीले छटपटी ओकलिन्।

`` प्रवचन दिने महात्माले पनि सबै उपदेश व्यवहारमा उतार्दैनन् ।´´-भन्दै बिरणीको श्रीमानले गिलासमा बियर खन्याए ।
`` श्रीमान पर्नु त मेरो दाइ जस्तो पर्नु ´´-उनको श्रीमानलाई सुनाउदै उखुको रसले लिभर राम्रो गर्छ ठानेर दाइलाई रस दिइन्।  ``नानी यो उखुको जुसले पनि ग्यास्ट्रिक गर्छ ।´´- मनोहरले जुसको गिलास पर सारिदिए...

दाइलाई केही खान नभएकोले बिरणी चुकचुकाउदै दाइको स्वास्थ्यलाई हेरेर मकै उसिन्न बसालिन्। उनको श्रीमान रक्सिको मातले हो-हल्ला गरेकाले दिक्क मान्दै सम्हाल्न भान्साबाट आइन्

``नशालु कान्छीको मातै मीठो लाग्छ
उन्मादमा रङ्ग भर्छिन् रातै मीठो लाग्छ
सुरा र सुन्दरीलाई बिष भन्छन् दुनियाँ
तर मदहोस बनाउने घातै मीठो लाग्छ´´

मनोहर दाइ पनि लरबरिदै यस्तो गीत गाएको देख्दा उनीलाई सपना हो कि बिपना भ्रम भयो। भ्रमलाई चिर्दै बोलिन्
`` दादा लिभरको रोगीलाई त उखुको रस भन्दा रक्सी पो ओखती रहेछ है।´´

सम्बन्धित खबरहरु