लुना खतिवडा / रामेछापको मन्थली नगरपालिकाका केही वस्तीहरुका ३८ घरपरिवार खानेपानी अभावका कारण खोला किनारामा गएर बस्न बाध्य भए भन्ने समाचार आयो केही दिन अगाडी । रामेछापमा पानीको अभाव भइरहेको खबरहरु पहिले पनि आउँथ्यो । रामेछाप मात्र होइन काभ्रे, पाँचथरको यासोक लगायतका ठाउँहरुमा पनि पानीको चरम अभाव भएका घटनाहरु सार्वजनिक भएका छन् । खानेपानी अभावकै कारण विस्थापित हुनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । सार्वजनिक नभएका धेरै घटनाहरु होलान् जहाँ खानेपानी अभावको चरम पिडा छ ।

पानी विनाको जिवन हामी कल्पना गर्न सम्म पनि सक्दैनौं । तर यसरी नै पानीका स्रोतहरु सुक्दै, हराउँदै जान थाले भने भोलिका दिनमा हाम्रा आगामी पूस्ता के गर्लान् ?? विकास चरमविन्दुमा पुग्ने तर पानीका लागि छट्पटिनुपर्ने दिन यसो कल्पना गरौ त कति भयावह होला ? धेरै अघि एक जना
सरले सुनाउनु भएको थियो “ उहाँहरु कामको शिलशिलामा रामेछाप जानुभएको रहेछ । खानेपानीको कुरा भइरहदा दोलखा माइत भएकी एक महिलाले पिडा पोखिछिन् स्कूल पढाउने मास्टर हुँ भनेर बिहा गरे तर यहाँ त पानीको यति दुख छ कि पहिले नै यो कुरा थाहा भएको भए बिहे नै गर्ने थिइन । कसैले आफ्नी छोरीको विवाह यता गर्ने विचार गरेका छन् भने पानी छ कि छैन बुझेर मात्र दिउन् ।” कति पिडादायक अवस्था होला त्यहाँका महिलाहरुको घरायसी कामको जिम्मा त उनीहरुलाई नै हुन्छ ।

चौंधौ योजना (२०७५ ७६) ले खानेपानी सेवामा पहुँच पुगेको जनसंख्या ९० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । यसैगरी खानेपानी तथा ढल निकास विभागका अनुसार खानेपानीको पहुँच ८८ प्रतिशत पुगेको छ । तर समान पहूँच छ कि छैन त ? शहरी क्षेत्रमा मोटर चलाएर भए पनि पानीको मागलाई सहज बनाउन सकिन्छ तर ग्रामिण भेगमा पानीका लागि गाग्री बोकेर घण्टौं हिड्नुपर्ने बाध्यतालाई कम गर्न कठिन नै होला । भौगोलिक रुपले विकट वस्तीहरु, विपन्न समूदाय र दलित बस्तीहरुमा पनि स्वच्छ पानीको पहूँच छैन ।

स्थानीय तहमा प्राकृतिक स्रोत साधनको संरक्षण गरौं

जलवायू परिवर्तनको असरहरु नेपालमा प्रत्यक्ष रुपमा देखिइरहेको छ जुन कुरालाई धेरै अध्ययनहरुले पनि पूष्टि गरिसकेका छन् । जलवायु परिवर्तनको कारण कतै अत्याधिक पानी पर्ने त कतै खडेरी लाग्ने समस्याले गर्दा खानेपानीका स्रोतहरुमा असर पर्न थालेको छ । जलवायू जन्य प्रकोपहरुलाई पूर्ण रुपमा निस्तेज गर्न नसकिएला तर सम्भावित असरहरुलाई केही हदसम्म कम गर्न सकिन्छ । प्रकृतिको सक्दो दोहन गर्ने अनि जलवायू परिवर्तनको असर भनेर बसिरहन त अलि मिल्दैन ।

स्थानीय तहमा विकासका नाममा प्राविधिक र वातावरणीय पक्षमा ध्यान नदिई अन्धाधुन्द डोजरले बाटो खन्ने काम यति धेरै छ कि यही कारणले पहिरो जाने, पानीका मूल सुक्ने, अन्यत्र सर्ने, खानेपानी आयोजनाहरुमा क्षति, वन जंगलको विनास जस्ता कैयन समस्याहरु देखिएका छन् जसका कारण बस्तीहरु जोखिममा छन् । कतै पानीको मूहान सुकेर, कतै पानी नै नभएर त कतै बाढी र पहिरोको जोखिमका कारण मानिसहरु विस्थापित हुने क्रम पछिल्लो समयमा बढिरहेको छ । गाउँमा विकास गर्ने नाममा भइरहेका विनाशका श्रृंखलाहरुले मानिसहरु आफ्नो बासस्थान छोडेर शरणार्थी बन्ने क्रम अझै कति बढ्ने हो ??

विकास भनेको त दिगो हुनुपर्छ, सबैलाई फाइदा हुने खाल्को हुनुपर्छ , सिमित व्यक्तिहरुका हितका लागि अन्धाधुन्द काम गर्दा प्रकृतिले उल्टो नतिजा दिने कुरा त हामीले धेरै ठाउँमा देखिसक्यौं । खोलामा क्रसर उद्योगहरुको मनोमानी देख्दा लाग्छ कि खोलामा भएका बालुवा र ढुंगा सबै सकियो । आज हामीले खोलानाला बचाएनौ भने प्रकृतिले सजाय पक्कै दिनेछिन् । पृथ्वी छ र त हामी छौं भन्ने कुरा किन नबुझेको ? एकछिन सोचौं त यी रुखविरुवा एकदिन चुप लागेर बसे भने ?, खोलाहरु एकदिन बगेनन् भने ?, तपाइँको घरको धारोमा एकदिन पानी खसेन भने ? अथवा खोलामा बाढी आएर पूरै बस्ती डुबायो भने ? अब त चेतना आउनुपर्छ हामीमा । स्थानीय जनप्रतिनिधिहरुले पनि कृपया भावी पूस्ताको भविष्य सोच्नुहोला, कसैको बहकाउमा लागेर पृथ्वीलाई हानी हुने कुनै निर्णय गर्न पाउनुहुन्न ।

स्थानीय निकायहरुमा पानीका स्रोतहरु संरक्षणमा स्थानीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको जिम्मेवारी र कर्तव्य के कस्तो हुने भन्ने कुरा पनि महत्वपूर्ण पक्ष हो । खानेपानी आयोजनाको दिगो संचालनका लागि उपभोक्ता समितिहरु आफैं जागरुक र एकीकृत हुनुपर्छ । आफ्नो आयोजनामा अपनत्वको भावना नभएसम्म स्रोत संरक्षण हुन सक्दैन । समितिहरुमा प्राविधक ज्ञानको जति महत्व छ त्यति नै महत्व छ वातावरणीय ज्ञानको पनि । समितिहरुलाई क्षमता अभिवृदि गराउने निकायहरुले वातावरणीय पक्षहरु पनि समेट्न जरुरी छ । वनजंगल संरक्षण गर्नु भनेको पानीको स्रोत जोगाउनु पनि हो । तसर्थ एकीकृत कार्ययोजना निर्माण र तिनको प्रभावकारी कार्यान्वयन गर्न सक्षम समितिहरु अहिलेको आवश्यकता हो ।

विकल्प बन्नसक्छ खानेपानी सुरक्षा योजना र पानीको बहुउपयोग

नेपाली परिबेशमा खानेपानीको सन्दर्भमा सुरक्षित र स्वच्छ पानीका लागि खानेपानी सुरक्षा योजना एउटा महत्वपूर्ण विधि हुनसक्छ । जोखिमको लेखाजोखा तथा जोखिम व्यवस्थापनको प्रयोग गरी खानेपानीको मुहान देखि मानिसको मुखमा पुग्दासम्म पानी स्वच्छ र सुरक्षित हुनुपर्छ भन्ने अवधारणा सहित यो योजना नेपालका थुप्रै खानेपानी योजनाहरुमा सन्चालित छन् । हरवखत पानीको गुणस्तरलाई सुनिश्चित गर्न र आपत्कालिन अवस्थामा खानेपानी प्रणाली संचालन गर्दा जनस्वास्थ्यमा देखापर्न सक्ने असरहरूलाई न्यून गर्न यो बिधि अत्यन्त प्रभावकारी हुनसक्छ । ठूला साना सबै खानेपानी आयोजनाहरुमा यो योजना प्रभावकारी ढंगले लागू गर्न सकियो भने पक्कै पनि धेरै हदसम्म जोखिम घटाउन सकिन्छ । सुख्खा ग्रस्त क्षेत्रहरुमा पानीको बहुउपयोग गर्नु महत्वपूर्ण छ । हुन त परम्परागत रुपमै पानीको बहुउपयोग भइरहेको छ तर यसलाई योजनाबद्ध तरिका अवलम्बन गरि संचालन गर्ने हो भने झनै प्रभावकारी हुन्छ । उदाहरणको लागि एउटै मुहानबाट खानेपानी, सिंचाइ, साना जलविद्युत आदि संचालन गर्न सकिन्छ । नेपालका केही स्थानहरुमा यो विधि अपनाइएको छ । यो विधिको महत्वपूर्ण फाइदा भनेको नै जनजिविकामा सुधार, वातावरणीय दिगोपना र पानीका स्रोतहरुको एकीकृत व्यवस्थापन हो ।
अन्त्यमा,
पानी जिवन जिउने आधार हो भन्दा फरक नपर्ला । पानीको स्रोत संरक्षणमा आज हामी चुक्यौं भने यस्तो दिन आउन सक्छ कि पानीकै निम्ति युद्ध हुनसक्छ । विपद पछि हतारिएर काम गर्नु भन्दा पनि विपद जोखिम न्यूनीकरणका पहलहरु चाल्नु चाहिं अत्यावश्यक छ । हामीले आफ्नो आफ्नो ठाउँबाट गर्न सकिने सामान्य कामहरु नै किन नहुन् आजैबाट शुरु गरौं । हाम्रा सन्ततिका लागि पानी बचाऔं

सम्बन्धित खबरहरु