भारतीय गाडी निर्माता कम्पनी ले नयाँ वर्ष सन् २०१५ मा झण्डै एक दर्जन नयाँ प्रडक्ट लञ्च गर्न तयार पारेको छ । युटिलिटी भेहिकल बजारको अग्रणी महिन्द्राले रिनल्ट डस्टर तथा फोर्ड इको स्पोर्ट जस्ता हल्का सवारी साधनको बजारमा पछिल्ला केही वर्षमा गुमेको आफ्नो हिस्सा पुनःप्राप्ति गर्ने प्रयासमा रहेको छ । कम्पनीले इतिहासमै पहिलोपटक यति धेरै नयाँ गाडीहरु बजारमा ल्याउन ठिक्क पारेको हो । मारुती सुजुकी र हुन्डाइ मोटर्सले समेत युटिलिटी भेहिकल लञ्चका लागि तयारी गरेको अवस्थामा महिन्द्राले सन् २०१५ मा ७ वटा मोडलका नयाँ गाडी सार्वजनिक गर्दै बजारमा धमाका पिट्ने लक्ष्य लिएको छ ।

महिन्द्राका नयाँ गाडीहरुमा सफ्ट रोडर (माइक्रो एसयुभी), लाइफस्टाइल युभी (थार), र प्रिमियम युभी (फेस लिफ्टेड एक्सयुभी ५००) का साथै पेट्रोल र डिजेल हाइब्रिड रहेका छन् । त्यसका साथै प्रस्तावित बोलेरोको प्रतिस्थापक यु ३०१ समेत यही बर्ष बजारमा आउने छ । महिन्द्राले पिक अप गाडीको क्षेत्रमा समेत आफ्नो उपस्थिति मजबुत बनाउन चाहन्छ र त्यसका लागि फेस लिफ्टेड जेनियो र बोलेरोका साथै १.२ टन सम्म क्षमताका तिन मिनी ट्रकको विकल्प प्रस्तुत गर्दैछ । कम्पनी सँग नजिक रहेका सूत्रहरुले बताएअनुसार हरेक ३५ देखि ४५ दिनमा नयाँ प्रडक्ट सार्वजनिक गर्ने योजना महिन्द्राको छ । हरेकको वर्ष ८० हजार देखि ९० हरार वटासम्म गाडी बजारमा ल्याइनेछ ।

तर कम्पनीका प्रवक्ताले भने भावी योजनाका बारेमा कुनै टिप्पणी नगर्ने बताएका छन् । बजारमा बढिरहेको प्रतिस्पर्धासँगै सन् २०१३ को सुरुमा भारतमा घोषणा गरिएको डिजेल डिरेगुलेसनले समेत कम्पनीलाई घाटा पूराएको हो । अघिल्लो वर्षको जनवरीदेखि अहिलेसम्ममा डिजेल र पेट्रोलको मूल्य अन्तर प्रतिलिटर २० भारतीय रुपैयाँबाट घटेर ११ भारुमा झरेको छ । जसका कारण धेरै क्रेताहरु पेट्रोल इन्जिनवाला गाडीतर्फ आकषिर्त हुन थाले । मुख्यतया डिजेलबाट चल्ने गाडी निर्माण गर्ने महिन्द्रालाई उपभोक्ताको रोजाइमा भएको यो परिवर्तनबाट सबैभन्दा नकारात्मक असर पुग्यो । कम्पनीले अघिल्लो हप्तामात्रै गाडीको स्टक घटाउने योजना स्वरुप सन् २०१५ को मार्चसम्म हप्ताको एकदिन गाडि निर्माण रोक्ने निर्णय गरेको छ ।

दुई वर्षदेखि कम्प्याक्ट युभी गाडीको प्रतिस्पर्धामा पछाडि परेको महिन्द्राले माइक्रो एसयुभी ल्याउने विचार गरिरहेको छ, जुन पि्रमियम ह्याचब्याक ग्राहकलाई लक्षित गरिएको छ । यसअघि माइक्रो एसयुभी सन् २०१६ को जनवरीमा मात्र लञ्च गर्ने योजना थियो । त्यसलाई अगाडि सार्दै सन् २०१५ को अक्टोबरमा गाडी लञ्च गर्ने तयारी गरिएको थियो । कम्पनीले फेरि सो डेडलाइनलाई पनि अगाडी सार्दै मे महिनामा ल्याएको र सोही अनुरुप गर्न आफु मातहतलाई अह्राएको छ । बजार हिस्सा नियन्त्रणका लागि कम्पनीहरुबीच संघर्ष भैरहेको हुँदा प्रतिस्पर्धा निकै तिब्र बन्ने विश्लेषकहरुले अनुमान गरेका छन् । मारुतीले समेत सन् २०१५ का लागि नयाँ गाडी पाइपलाइनमा राखेको छ । तर, मारुती र महिन्द्राबीच मात्र प्रतिस्पर्धा हुनेछैन । सबैजसो निर्माताहरुले आगामी वर्षका लागि बजारमा पठाउने आफ्ना दाउ ठिक्क पारेर राखेका छन् । -इकोनोमिक टाइम्स

सम्बन्धित खबरहरु