काठमाडौं । तपाईले खाना पकाउने ग्यास पाउनुभएको छैन ? ग्यास अभाव भएर सास्ती भोग्नुभएको छ ? अब चिन्ता लिनुपर्दैन । सरकारले सिंहदरवार अगाडि रहेको नेशनल ट्रेडिङ लिमिटेड परिसरबाट ग्यास बिक्री गर्ने भएको छ । चरम अभाव भएर सर्वसाधरणले सास्ती भोग्नुपरेपछि आइतबारदेखि केही समयका लागि यो व्यवस्था गर्न लागेको हो ।

‘ग्यास अभावले  उपभोक्ता समस्या परेपछि हामीले केही समयका लागि यो व्यवस्था गर्न लागेका हौ,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले बिजमान्डूसँग भने, ‘आपतकालीन अवस्थाका लागि यो व्यवस्था गर्न लागेका हौ ।’

ग्यास अभावले उपभोक्ता मारमा परेपछि वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले आपूर्ति व्यवस्था सहज बनाउन यो संयन्त्रमार्फत बिक्री गर्न निर्देशन दिएका थिए ।

यो निर्देशनपछि निगमले विहीबारनै नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो । निगमले ल्याएको प्रस्तावलाई उद्योगीले स्वीकार गरेर आइतबारदेखि नेशनल ट्रेडिङ लिमिटेड परिसरबाट बिक्री गर्न सहमत भएका हुन् ।

‘निगमले राखेको प्रस्ताव हामीले स्वीकार गरिसकेका छौ । आइतबारदेखिनै नेशनल ट्रेडिङमार्फत बिक्री गर्न ग्यास आपूर्ति गर्छाै,’ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘पहुँचवालाले ग्यास पाए तर सर्वसाधरणले नपाएको गुनासो आएकोले यो संयन्त्रमार्फत बिक्री गर्न लागेका हौ ।’ काठमाडौंमा बिक्री हुने सबै ग्यास त्यही पाइने उनले बताए ।

‘काठमाडौ उपत्यकामा बिक्री हुने ग्यास उपभोक्ताले त्यहाँ पाउनेछन्,’ घिमिरेले भने, ‘सबै ग्यास सिलिन्डर राख्ने भएकाले सजिलै उपभोक्ताले लिएर जान पाउनेछन् ।’ उपभोक्ताले एक हजार चार सय ७० रुपैयाँमा ग्यास पाउनेछन् । उद्योगीले नेशनल ट्रेडिङलाई एक हजार चार सय ३९ रुपैयाँमा बिक्री गर्नेछन् । निगमको छलफलमा ग्यास बिक्रेता महासंघ नेपालका प्रतिनिधि समेत उपस्थित थिए । उनीहरुले महासंघको ब्यानरमा बिक्री गर्न प्रस्ताव गरेका थिए । तर उद्योगीको असहमतिले नेशनल ट्रेडिङमार्फत बिक्री गर्न लागिएको हो ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरी मर्मतका कारण बन्द हुँदा केही कम ग्यास आयो । ग्यास कम आएको मौका छोप्दै ग्यास उद्योगीले नयाँ सिलिन्डर बिक्री गर्दा उपभोक्ताले अभाव खेप्नुपरेको छ । डिसेम्बर महिनामा १८ हजार टन ग्यास आएको थियो । निगमका अनुसार जनवरीको २० तारिखसम्म १८ हजार टन ग्यास आइसकेको छ ।

‘बीस दिनमै १८ हजार टन ग्यास आइसकेको छ,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले बिजमान्डूसँग भने, ‘यो महिना माग भन्दा बढी ग्यास आउँदैछ ।’ जनवरी महिनामा २९ हजार टन ग्यास ल्याउने तयारी निगमको रहेको छ । ‘अभाव हटाउन सबै संयन्त्र प्रयोग गरेर ग्यास ल्याउन खोजिरहेका छौ,’ उनले भने, ‘उपभोक्ताले अभाव खेप्नुपर्ने अवस्था नआओस भनेर लागिरहेका छौ ।’

गत महिना कम ग्यास आयो । बजारमा अभाव देखिएपछि उपभोक्ताले थप ग्यास मौज्दात राख्न थालेकोले पनि समस्या भएको हो । यही बेलामा बन्द, हड्तालको त्रासले उपभोक्ताले थप ग्यास राखेकोले समस्या भएको हो । पछिल्लो समयमा ग्यासको कालोबजारी गर्नेलाई सरकारले समेत कारवाही थालेकोले समस्या कम हुने निगम अधिकारीहरु बताउँछन् ।

‘ग्यास लुकाएर राख्नेलाई कालोबजारी ऐन अनुसार कारवाही थालेको छ । उद्योगबाट आएको ग्यास सोझै बिक्री वितरण समेत भएको छ,’ निगमका एक अधिकारीले भने, ‘यसले पनि उपभोक्ताले सहज ग्यास पाउन सहयोग पुग्छ ।’

सम्बन्धित खबरहरु