नेपाल स्टक एक्सचेन्जमा सोमबार पनि झण्डै अर्ब रुपैयाँको हाराहारीमा शेयर किनबेच भएको छ । आईतबारदेखि नेपाल ईन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर राफासाफको क्रममा  ठूलो कारोबार भएकाले कारोबार रकम धेरै देखिएको हो । राष्ट्रिय बाणिज्य बैंकले लिलाम गरेको ईन्भेष्टमेन्टको ५८ लाख कित्ता शेयर मध्ये आईतबार २० लाख कित्ता र सोमबार साढे १६ लाख कित्ता सम्बन्धित खरिदकर्ताको नामसारी प्रयोजनका लागि बिक्री भएको हो । आईतबारको तुलनामा सोमबार अरु कम्पनीको साधारण शेयर किनबेच रकम पनि बढेर ३३ करोड रुपैयाँ पुगेको छ । कारोबारको सुरुमा बढेको नेप्से ४० मिनेटपछि घट्न थालेर अन्त्यमा झिनो अंकले ऋणात्मक भई ९६८.६३ मा बन्द भयो । सोमबार दोस्रो त्रैमासिक बित्तीय विवरण प्रकाशित गरेको कुमारी बैंकको शेयर मूल्य झण्डै ६ प्रतिशतले बढ्यो भने सानिमा र ग्लोबल आईएमईका शेयर मूल्य सामान्य रुपमा प्रभावित रहे । केही फाईनान्स र बिकास बैंकका शेयर मूल्य उच्च अंकले बढेका छन् । मूल्य घट्ने कम्पनीहरुमा धेरै बिकास बैंक र फाईनान्सहरु नै छन् । आईतबार संविधानसभामा प्रस्ताव समिति गठन भएपछि लगानीकर्तामा केही उत्साह देखिएको भए पनि सोमबार एमाओवादीसहितका दलको आन्दोलनमा जाने निर्णय आएपछि शेयर बजारमा नकारात्मक प्रभाव परेको छ ।

सम्बन्धित खबरहरु