२०८० चैत्र १६ गते शुक्रवार | 2024 March 29th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भ्रष्टाचारी, कमिसनखोरले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने अवस्था बनाइनेछ : गृहमन्त्री

Narayan Kaji Shrestha

गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश भ्रष्टाचारको जालोमा जेलिएको बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको चर्चा गर्दै उहाँले विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्षरूपमा काम गर्न प्रहरीलाई निर्देशन दिएको पनि बताउनुभयो ।

गोरखा सदरमुकाममा आज आइतवार आयोजित प्रेस सेन्टर गण्डकी प्रदेश र गोरखा जिल्ला कमिटीको संयुक्त साधारण सभामा उहाँले भन्नुभयो, ‘निर्दोषको सामाजिक प्रतिष्ठामा आँच आउनु हुँदैन, निर्दोष फस्नु हुँँदैन तर दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ । नेपाल प्रहरीको गौरवलाई थप उचाइमा पुर्‍याउनुपर्छ । भ्रष्टाचारी, कमिसनखोर, तस्कर, कालोबजारीयाहरूले आफैँ प्रहरीसमक्ष आत्मसमर्पण गर्ने अवस्था बनाइनेछ ।’

देश सम्भावनायुक्त रहेको भन्दै गृहमन्त्रीले खाडीलगायतका देशमा रहेका लाखौँ युवालाई देश फर्काउन सरकारले पहल गरिरहेको बताउनुभयो । ‘त्यसको वातावरण निर्माण गर्नका लागि बाधक के हो ? देश भ्रष्टाचारको जालोमा छ, त्यो जालो हटाएमात्रै ती युवालाई स्वदेशमा फर्काउन सकिन्छ ।’

गृहमन्त्री श्रेष्ठले संविधानको कार्यान्वयनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग गठनलाई पूर्णता दिने पनि जानकारी दिनुभयो । भ्रष्टाचार नियन्त्रण नगरेसम्म देशको सामाजिक आर्थिक रूपान्तरण, सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा अपूर्ण हुने उहाँले बताउनुभयो । नागरिकको जीवनमा गुणात्मक परिवर्तन हुने गरी सरकारले काम गर्न नसकेको पनि श्रेष्ठले बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनका घटनाहरूमा प्रेस जगतले ठूलो योगदान गरेको भन्दै उहाँले सञ्चार क्षेत्रले सामन्तवाद र निरङ्कुशतन्त्रको अन्त्यका लागि खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस