२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

काठमाडौंमा प्रकोपको रूप लिँदै दादुरा

Measles becoming an epidemic in Kathmandu

काठमाडौं । द्रुत संक्रामक रोगका रूपमा लिइने दादुराबाट काठमाडौंका चारजना बालबालिका संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको हो।

कुनै निश्चित ठाउँमा एकै पटक ५ जना भन्दा बढीमा दादुरा संक्रमण भएमा प्रकोपको रूपमा लिइने जनस्वास्थ्यविज्ञ बताउँछन्। गोकर्णेश्वर नगरपालिका–९ स्थित एक विद्यालयमा अध्ययनरत बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो। विद्यालयका साथै संक्रमित बालबालिकाको परिचय र उमेर खुलाइएको छैन। यद्यपि, १५ वर्षमुनिको बालबालिका भएको जनाइएको छ। यो रोग विशेष गरी पाँच वर्षमुनिका बालबालिकालाई लाग्छ।

इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले एकै ठाउँमा चार जना बालबालिका दादुरा संक्रमण पुष्टि हुनुलाई प्रकोपको रूपमा लिइने बताउनुभयो । जनस्वास्थ्य विज्ञ डा. मरासिनीले भन्नुभयो, ‘एकै ठाउँमा चारजनालाई संक्रमण पुष्टि भइसकेको छ भने अहिलेको हिसाबमा प्रकोप नै हो। चार जनाले अरूलाई पनि संक्रमण सारिसकेका हुन सक्छन्।’ गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य शाखा स्रोतका अनुसार, विद्यालयमा अध्ययनरत अन्य बालबालिकामा पनि दादुरासँग मिल्दोजुल्दो लक्षणहरू देखिएको छ। ‘पाँच जनाको रगत परीक्षण गर्दा चार जनामा पुष्टि भएको हो,’ स्वास्थ्य शाखाका एक अधिकृतले भन्न्भयो, ‘अन्य बालबालिकाको परीक्षण भएको छैन।’

बालबालिकाले खोप लगाए÷नलगाएको यकिन हुन सकेको छैन। शंकास्पद बालबालिकालाई छुट्टै कोठामा राखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को प्रतिवेदन, २०२० अनुसार, दादुराविरुद्धको खोप नलगाएका व्यक्तिमा भाइरस संक्रमण भएपछि उनीहरूबाट खोप नलगाएका वा खोपको पूर्ण मात्रा नलगाएका मानिसमा फैलिएर प्रकोपको रूप लिने उल्लेख छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस