२०८२ फाल्गुन २४ गते आइतवार | 2026 March 8th Sunday

मनसुनको प्रभाव : यी प्रदेशमा भइरहेको छ वर्षा

काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखका मौमसविद् रोजल लामिछानेका अनुसार पछिल्लो तीन घन्टामा गण्डकी प्रदेशका थोरै स्थान, बागमती प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा रातिको समयमा वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी प्रदेश, मधेश प्रदेश र देशका पहाडी भू-भागमा बदली रहनुका साथै हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

मौसमविद् लामिछानेले मनसुन प्रणाली क्रमिकरूपमा देशभर फैलिने क्रममा रहेको र यो देशभर विस्तार हुन अझै एक साता लाग्ने बताउनुभयो। गत जेठ ३१ गते बुधबार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो। मनसुन सुस्तगतिमा रहेकाले देशको पश्चिम क्षेत्रमा फैलिन केही दिन लाग्ने जनाइएको छ। रासस

 

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस