२०८२ मङ्सिर २७ गते शुक्रवार | 2025 December 12th Friday

१०० किलो सुन तस्करी प्रकरण : जाँचपास गर्ने सबै कर्मचारी निलम्बित, अन्यमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेटबाट बरामद भएको सुनको जाँचपासमा संलग्न भन्सार कार्यालयका कर्मचारीहरु निलम्बित भएका छन्। भन्सार विभागले अनुसन्धानका लागि भन्दै उनीहरुलाई निलम्बन गरेको हो।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार सुन मोरेर ल्याइएको मोटरसाइकलको स्पेयर पार्टस् (डिस्क ब्रेक सु) जाँचपासमा संलग्न तथा त्यतिबेला ड्युटीमा रहेका र हस्ताक्षर गर्ने कर्मचारीलाई निमलम्बन गरिएको हो। उनीहरुसहित अन्य कर्मचारीमाथि पनि छानबिन गर्न भन्सार विभागको अनुसन्धान शाखाको निर्देशकको नेतृत्वमा समिति पनि गठन भएको छ। उक्त समितिले सबै पक्षको अनुसन्धान गर्दै प्रतिवेदन दिने र उक्त आधारमा संलग्नता देखिएमा अन्य कर्मचारी पनि निलम्बनमा पर्ने खड्काले बताउनुभयो ।

अवैध रुपमा सुन तस्करी भइरहेको भन्ने पूर्वसूचनाको आधारमा राजस्व अनुसन्धान विभागले विशेष टोली नै बनाएर अपरेशन चलाएको थियो। जसक्रममा मंगलबार साँझ विमानस्थलको भन्सार गेटबाट बा २ ज २३२४ नम्बरको ट्याक्सीलाई नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिएको ट्याक्सीमा मोटरसाइकलका स्पेयर पार्टस् (डिस्क ब्रेक सु) भेटिएको थियो। विभागको टोलीले ब्रेक सुहरु खोलेर हेर्दा त्यसमा सुन मोरेर ल्याइएको देखिएको थियो।

विभाग स्रोतका अनुसार क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट मंगलबार ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएको थियो। सुन मोरेर ल्याइएको ब्रेक सुसहितको स्पेयर पार्टस्हरु अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले मंगलबार दिउँसै जाँचपास गरेको थियो।

जाँचपास गरेर सम्बन्धित गन्तव्यतिर लैजान लागेको अवस्थामा विभागको टोलीले भन्सारको गेटबाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो। बरामद सुनको परिमाण झण्डै १०० किलो रहेको बताइएको छ।

 

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस