काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्क्यानर मेसिन, भन्सार कार्यालयको जाँच पार समेत नाघेर झण्डै एक क्वीन्टल सुन विमानस्थलको कम्पाण्डबाटपनि बाहिरिएको अवस्थामा भेटिएको छ ।
राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा विमानस्थल नजिकै रहेको सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताउनुभयो । ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’, उहाँले भन्नुभयो । सुन अहिले राष्ट्र बैकमा जोखिदैछ । सुन बोक्दा सानो ट्याक्सी (गाडी) नै लच्किएको थियो । किनकी सुन मोटरसाइकलको पार्टस्मा लुकाइएको थियो । दुबैको तौलो ठूलो थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो । हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।
भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारबाट कटेको सुन समातिएकोबारे जानकारी नभएको बताउनुभयो । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा हुनुहुन्छ । उहाँको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेको अवस्था थियो ।