काठमाडौं। पछिल्लो १० वर्षमा आठ क्विन्टलभन्दा बढी अवैध सुन बरामद भएको छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७१–७२ यता ८०९ केजी सुन बरामद भएको हो ।
यसबीचमा सुन तस्करीको आरोपमा ७२२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू अधिकांश भरिया र केही कर्मचारी छन् । प्रहरीले चूडामणि उप्रेती ‘गोरे’बाहेक कुनै पनि सुन तस्करीका नाइकेलाई पक्रिन सकेको छैन ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलबाटै सबैभन्दा धेरै सुन तस्करीमा संलग्नलाई पक्राउ गरेको तथ्यांक छ । प्रहरीका अनुसार ४९७ जना विमानस्थलबाट पक्राउ परेका हुन् । पछिल्लोपटक गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपाससमेत गरेर बाहिरिएको एक क्विन्टल सुन ट्याक्सीमा हालेर लैजान लाग्दा बरामद भयो । उक्त प्रकरणमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा भरिया, ट्याक्सी चालक र अधिकृतभन्दा तल्लो तहका कर्मचारी छन् ।
यसरी प्रहरीले पक्राउ गरेका भरिया वा अरु संलग्न व्यक्तिबाट तस्करी गिरोहका नाइके पत्ता लाग्न नसक्नुलाई धेरैले रहस्यको विषय मान्दै आएका छन् । अझ पछिल्लो समय विमानस्थल भन्सारबाट पास भइसकेको सुन सडकबाट बरामद हुनुले घटनालाई थप रहस्यमयी बनाएको छ । र, सुन तस्करीमा राजनीतिक नेतृत्वसँगै उच्च पदस्थहरू संलग्न भएको शंकालाई मलजल गरेको छ ।