२०८२ माघ १ गते बुधवार | 2026 January 14th Wednesday

मलाई मार्न रमेश खरेल रिभल्बर बोकेर हिँडेका थिए, पछि खुट्टा समाउन आए : वामदेव गौतम

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक एवं पूर्वगृहमन्त्री वामदेव गौतमले नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको बताउनुभएको छ ।

शनिवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गौतमले हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रहनुभएका रमेश खरेल इन्सपेक्टर भएका बेला आफूलाई मार्नलाई रिभल्बर बोकेर हिँडेको आरोप लगाउनुभयो । नेता गौतमले अहिले तिनै व्यक्तिले बामदेवको पालामा सुन तस्करी भएको भन्दै गलत प्रचार गरिरहेको बताउनुभयो ।

‘मलाई आईजीपी अच्युत खरेल हटाएर ध्रुव प्रधानलाई बनाउन पार्टीबाट निर्देशन आएको थियो’ नेता गौतमले भन्नुभयो, ‘रमेश खरेलले त्यसबेला गृहमन्त्रीलाई जहाँ भेट्यो, त्यहीँ मार्छु भनेर रिभल्बर बोकेर हिँडेको हो ।’ उहाँले त्यसबेला धुव्र प्रधानलाई आईजीपी बनाउन आफूलाई बाध्य बनाएको समेत बताउनुभयो ।

नेता गौतमले खरेलले त्यसबेला आफूलाई मार्न हस्तलिखित पर्चा बाँडेको दावी गर्नुभयो । नेता गौतमले भन्नुभयो, ‘तर, पछि गल्ती भयो भन्दै खुट्टा समाएर माफी माग्न आए । तर मैले खुट्टा समाउन दिइन ।’

 

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस