२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाल सुधार गृह तोडफोड गरेर भागेका २ सय ५५ जनामध्ये ७ जनाको खोजी हुँदै

काठमाडौं । भक्तपुरको बाल सुधार गृह तोडफोड गरी भागेका मध्ये ७ जना अझै फरार छन्। सोमबार अपराह्न सुधार गृह तोडफोड गरेर भागेका २ सय ५५ जनामध्ये २४८ जना पक्राउ परिसकेका छन्। मंगलबार दिनभरमा उपत्यकाका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।

फरारमध्ये १ जनालाई प्रहरीले दोलखाबाट पक्राउ गरेको थियो। बाँकीको खोजी तीव्र पारिएको डिएसपी पाठकले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई भक्तपुरका विभिन्न प्रहरी कार्यालयमा राखिएको उहाँले बताउनुभयो । केहीलाई भने सोही सुधार गृहमा राखिएको छ। तोडफोड भएको भवन बनाइसकेर उनीहरूलाई पुनः सोही सुधार गृहमा लगिने डिएसपी पाठकले बताउनुभयो । त्यतिन्जेलका लागि विभिन्न प्रहरी कार्यालयमा छुट्टै कोठा बनाएर उनीहरूलाई राखिएको छ।

सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए। शनिबार राति बेहोस भएका बस्नेतको आइतबार बिहान भक्तपुरस्थित नागरिक अस्पतालमा मृत्यु भएपछि तनाव सुरू भएको थियो।

कमलको हत्या भएको भन्दै उनका परिवारले शव बुझ्न मानेका छैनन्। बाल सुधार गृहमा २५५ बालक र ४३ बालिका गरी २९८ जना छन्। नेपालमा १८ बर्ष नपुगेका तर अपराधि पुष्टि भएकालाई कारागार नराखि बाल सुधार गृहमा राख्ने कानूनी व्यवस्था छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस