काठमाडौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा समेत कडाइ गरिएको छ ।
उहाँले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताउनुभयो । ती स्थानबाट प्रदर्शनमा आउन र धरान प्रवेश गर्न दिएको छैन । ‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भन्नुभयो, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । तर त्यसको प्रतिकारमा समेत उत्रने सम्भावना देखिएपछि धरान प्रवेशमा कडाइ गरिएको प्रशासनले जनाएको छ । धरानको प्रदर्शनमा भारतबाट समेत मानिसहरु आउन थालेको सूचनाका आधारमा झापा मोरङ र सुनसरीको सीमा क्षेत्रमा पनि कडाई गरेको प्रहरी स्रोतले बताएको छ ।
हेर्नुहोस् सूचना