२०८२ कार्तिक २३ गते शनिवार | 2025 November 8th Saturday

संसद्‌ सुचारु गर्ने सहमति नजिक पुगेका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा जारी गतिरोध अन्त्य गर्ने विषयमा सहमतिको नजिको पुगेको बताउनुभएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेको जानकारी दिनुभयो ।

‘हामी निरन्तर छलफलमा छौँ। संसद् सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौँ,’ प्रधानमन्त्रीले सर्वदलीय बैठकमा भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको सुभेच्छा सकारात्मक रहेको बताउनुभयो। ‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ। यसमा कसैले विमति राख्नुपर्ने कारण छैन,’ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्नुभयो ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ। एमालेको अवरोधका कारण साउन १० गते यता संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा भने एमाले अनुपस्थित रह्यो। राष्ट्रपतिले राजनीतिक अजेन्डा तोकेर बैठक बोलाएको भन्दै एमाले अनुपस्थित भएको हो।

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस