२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

विद्युतीय ट्याक्सीको प्रयोग बढाउन आग्रह

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ट्याक्सी व्यवसायी तथा चालकलाई खनिज तेलबाट चल्नेलाई त्यागेर विद्युतीय ट्याक्सी प्रयोग बढाउन आग्रह गर्नुभएको छ। उहाँले मुलुकको यातायातलाई इलोक्ट्रोनिक भेहिकिल (इभी) मा रूपान्तरण गर्ने गरी कानुन निर्माण सुरु भइसकेको जानकारी पनि दिनुभयो।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार ट्याक्सी व्यवसायी तथा चालकसँगको छलफलमा मन्त्री ज्वालाले भन्नुभयो, “हामी आवश्यक कानुन बनाउँछौँ। तपाईंहरू पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको सट्टा विद्युतीय ट्याक्सीतिर लाग्नुहोस्।” मन्त्री ज्वालाले ट्याक्सी चालकको पहिचान खुल्ने गरी पोसाक व्यवस्था गर्न र अनलाइन सेवामा जान पनि व्यसायी तथा चालकलाई आग्रह गर्नुभयो।

सो अवसरमा व्यवसायी तथा चालकहरूले इम्बोस्ड नम्बर देवनागिरी लिपिमा हुनुपर्ने, एसइई सकेका सबै विद्यार्थीलाई चालक अनुमतिपत्र दिने गरी तालिम व्यवस्था गर्नुपर्ने, लामो दूरीमा बिरामी लैजान अस्थायी ‘रोड पर्मिट’ दिनुपर्नेजस्ता माग राखेका थिए।

विद्युतीय ट्याक्सीको सङ्ख्या बढाउँदै जानेमा आफूहरू सकारात्मक रहेको व्यवसायी तथा चालकहरूको भनाइ थियो। यातायात व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकामा १२ हजार तीन सय ट्याक्सी सञ्चालनमा छन्।

 

 

प्रकाशित मिति : २०८० साउन १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस