
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कोसी प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने बताउनुभएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिलेको व्यवस्थाका संस्थापक एमाले र कांग्रेस मिलेर कोसी प्रदेशलाई जोगाउनु राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।
राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो । एमाले र कांग्रेस मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने उहाँको भनाइ छ । भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणलाई सरकारले सत्ताको रक्षाकवचका रूपमा प्रयोग गरेको उहाँको जिकिर छ ।
आर्थिक कारणले प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङदेनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुनेमा जोड दिनुभयो । प्रमुख राजनीतिक दलहरू नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएको भन्दै उहाँले निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरिनुपर्ने बताउनुभयो ।