चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका घर भई माडीमा रहेको जनकल्याण माविमा कक्षा १० मा अध्ययन गरिरहनुभएका इन्द्रबहादुर चेपाङ अहिले विद्यालयमा व्यस्त हुनुहुन्छ । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको यस विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि कार्यमा व्यस्त रहन थाल्नुभएको छ ।
चेपाङ वि.सं. २०७२ को भूकम्पपछि माडी नगरपालिकामा आएर बुबाआमासँग बसोबास गर्दै आउनुभएको छ । अध्ययनका लागि असहज बन्दै गएको त्यो दिन सम्झदै चेपाङ भन्नुहुन्छ, ‘पहिले घरबाट खर्चको जोहो गर्न कठिन थियो । अहिले त विद्यालयको कार्यक्रममा सहभागी भएर आफैँ कमाउने र पढ्ने गरेको छु ।’ विकास केन्द्रले सञ्चालन गरेको यस कार्यक्रममा सहभागी भएसँगै कापी कलम किन्ने, खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका लागि परिवारसँग हारगुहार गर्नु नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पढाइसँगै कामअनुसार मासिक तीन हजार हाराहारी कमाउने गरेको छु ।’ अब केही समयपछि आफू कृषि कर्ममा लागेर कमाउन सक्ने उनले बताए ।
एसइई परीक्षा उत्तीर्ण गरेपछि पढाइलाई बिट मार्न लाग्नुभएका स्थानीय राजेश महतो अहिले यस कार्यक्रममा जोडिएसँगै अध्ययनलाई निरन्तरता दिन थाल्नुभएको छ । कक्षा ११ मा अध्ययनरत उहाँ विद्यालयमा नै बसेर पढ्दै कमाउँदै कार्यक्रममा सहभागी भएर महिनाको आठ हजार कमाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘पढ्न पाइँदैन कि भन्ने थियो । अब कक्षा १२ सम्म अध्ययनका लागि सहज भएको छ ।’ आफूले कमाएर घरपरिवारलाई समेत दिने गरेको उहाँले बताउनुभयो । ‘यहाँ गरेको दुःख भविष्यका लागि सहज बन्नेछ भन्नेमा विश्वस्त छु’, उहाँले भन्नुभयो ।
समूहमा रहेका साथीहरूले विद्यालय समयमा मात्रै काम गर्ने भएकाले त्यो कामको रेखदेख गर्न उहाँ विद्यालयमा नै बस्ने गर्नुभएको छ । विद्यालयले यी समूहमा रहेका विद्यार्थीबाट १२ कट्ठा जग्गामा धान रोपाइँ गरेको छ । तरकारीखेती समेत गर्दै आएको छ । यस्तै ३० जना विद्यार्थीले बाख्राको पाठा घरमा लगेर पालेका छन् भने चार सय वटा हाँस बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।
आर्थिक वर्ष २०७८–८९ सालदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट छनोटमा परी पढ्दै कमाउँदै कार्यक्रममा लागू भएसँगै यस विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका विद्यार्थीलाई अध्ययनका लागि टेवा पुगेको छ । विद्यालयले तीन वटा समूह बनाएर यस कार्यक्रममा विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । तीन वटा समूहमार्फत एक सय ३० जना विद्यार्थीलाई परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयले बाख्रापालन, हाँसपालन, फलफूल, तरकारीखेती तथा खाद्यान्नबालीका लागि समूह विभाजन गरी काम गरिएको कार्यक्रमकी सम्पर्क व्यक्ति एवं विद्यालयकी शिक्षिका टीका खत्रीले जानकारी दिनुभयो । अहिले यस कार्यक्रममा सहभागी विद्यार्थीले कामका हिसाबले मासिक रु तीन हजारदेखि ८ हजारसम्म कमाउने गरेको उहाँले बताउनुभयो । विद्यालयमा कृषि विषय अध्ययन हुँदै आएको हुँदा यहाँका विद्यार्थीलाई कृषितर्फ नै केन्द्रित गराइएको उहाँको भनाइ छ ।