
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिकसँगै समाजका कुनै पनि आयाम ठिक अवस्थामा नरहेको दावी गर्नुभएको छ । मुलुक अराजकताउन्मुख छ, सँगै कूटनीतिमा पनि अराजकताको संकेत देखा परेको छ उहाँले भन्नुभयो ।
कोइराला भन्नुहुन्छ, कोसी प्रदेश नामांकरणदेखि विवाद भइरहेको हो । एकथरि जातीय आधारमा अधिकांश चाहिँ कोसी प्रदेशको पक्षमा उभिए, त्यही अनुरुप नामाकरण भयो । कोसी पनि सभ्यताको परिचय हो भन्ने नर्कान सकिन्न । तर, त्यहाँ भइरहेका लडाईं सामान्य देखिँदैन, जति देखिएको छ त्यतिमा सीमित छ भन्ने मलाई लाग्दैन । धरानका मेयरले मन्दिर बगलमै चर्च बनाइदिनुभयो । त्यो विषय केही समय उठ्यो, सामसुम भयो । त्यसपछि सामाजिक सञ्जालमा गोरू काटेर खाएको विषय आए । देख्दा धार्मिक लडाईँजस्तो लागेको थियो तर, त्यतिमा सीमित देखिँदैन ।
जब म धरान गएँ क्रिश्चियनसँग भेटघाट र कुराकानी गरेँ, विराटनगरमा धार्मिक गुरुसँग संवाद गरेँ अनि थाहा भयो प्रधानमन्त्री प्रचण्डजीको अभिव्यक्ति पनि एउटा झिल्को हो भन्ने ‘फिल’ भयो । आदिवासी जनजाती दिवसको दिन उहाँले बोल्नुभयो, ‘मलाई भोट देऊ जातीय राज्य दिन्छु ।’ यो फ्याक्टरले काम गरेको छ । उहाँ एउटा पार्टीको अध्यक्षमात्र भएको भए ‘नोटिस’ हुने थिएन होला, तर देशको प्रधानमन्त्रीले बोल्ने कुरा थिएन, त्यसको अर्कै ‘म्यासेज’ गयो । मैले प्रहरी प्रशासनसँग कुरा गरेर अरु पक्षसँग संवाद गर्दा कुनै बेला त्यहाँको परिस्थिति भड्किन सक्छ भन्ने कुरा मलाई लाग्छ ।