२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

आज बिहीवार काठमाडौंसहित उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । बिहीवार काठमाडौंमा सार्वजनिक बिदा हुने भएको छ । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिँदै आइएको छ । काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा इन्द्रजात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ।

इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै योसिं स्थापना लिंगो (ध्वजा) हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र योसिं लिंगो (ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

 

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस