२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

आफ्नै विमानमा काठमाडौं उत्रियो अमेरिकाको सैनिक टुकडी

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी आज (बिहीबार) काठमाडौं आइपुगेको छ। अमेरिकी सैनिक अधिकारी लिम कमन्टरको नेतृत्वमा अमेरिकाको सैनिक टुकडी काठमाडौं आइपुगेका हुन्।

यही भदौ २४ गतेदेखि काठमाडौंमा हुने नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि बन्दोबस्तीका सामग्रीसहित अमेरिकी सेनाको टुकडी नै आएको हो। अमेरिकी सेनाको टोली अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

दुई देशका सेनाबीचको संयुक्त अभ्यास तालिम भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । नियमित रूपमा सञ्चालन भइरहेको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको यो ४०औं संस्करण हो। अभ्यासमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सहभागी हुने छन्।

संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ। नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी भइरहेको छ।

 

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस