२३ असोज, काठमाडौं । नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार ‘इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई हामीले सुरक्षित स्थानमा पुर्याइसक्यौं । रातिसम्म मेरो जानकारीमा भएअनुसार ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।’
मुख्य संकट अब टरेको र इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेको भन्दै लम्सालले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरिन् । प्रवक्ता लम्सालले भनिन्, ‘सबै सुरक्षित हुनुहुन्छ । अब केही दिन धैर्य गर्नुस्, सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्छ । उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भएको छ । दूतावासका साथीहरुले पनि बंकरभित्रै बसेर काम गरिरहनु भएको छ ।’ सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।
इजरायलको अहिलेको संकटको बेला इजरायलका स्थानीय बासिन्दा, सेना, कर्मचारी लगायतसँग डिल गर्न सक्ने, त्यहाँको कानूनी प्रक्रिया बुझेको व्यक्ति दूतावासलाई आवश्यक परेकाले सोमबारको मन्त्रिपरिषद बैठकले अंग्रेजी–हिब्रु भाषा जानेको व्यक्तिलाई काममा लगाउन स्वीकृती दिएको हो । गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् । इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी छ । कोही नेपालीहरु बंकरभित्र बसेर ज्यान जोगाएका थिए ।