२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इजरायलमा हमास आक्रमण : १८ थाई र ११ अमेरिकी नागरिकको मृत्यु

काठमाडौं ।  इजरायलमा हमासको आक्रमणमा परी नेपालसहित २० भन्दा बढी मुलुकका नागरिकको मृत्यु वा हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको छ । सम्पर्कविहीन रहेको १ जना नेपाली विद्यार्थीको खोजी जारी छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार हमासको आक्रमणमा परी ११ अमेरिकी नागरिकको मृत्यु भएको छ । त्यस्तै केही अमेरिकी हमासको नियन्त्रणमा रहेको पनि अमेरिकाले आशंका व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले एक्समा लेखेका छन्, ‘यस हप्ता हामीले इजरायलविरुद्ध भयावह आतंकवादी आक्रमण र सयौँ नागरिक हताहती भएको हिसाब दिइरहेका छौँ ।…दु:खको कुरा यो छ कि अहिलेसम्म ११ अमेरिकी नागरिक मारिएको हामीलाई जानकारी आएको छ ।’

१८ थाई नागरिकको मृत्यु, ११ कब्जामा

थाइल्यान्डका उपविदेशमन्त्री जाकापोङ साङमानीका अनुसार १८ जना थाई नागरिक हमासको आक्रमणमा मारिएका छन् । त्यस्तै ११ जना थाई नागरिक हमासको अपहरणमा परेको पनि थाई उपविदेशमन्त्री साङमानीले जानकारी दिएका छन् । इजरायलमा करिब ३० हजार थाई नागरिक कार्यरत छन् । ३ हजार थाई नागरिक स्वदेश फर्किन चाहेको थाई विदेश मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै ७ जना अर्जेन्टिनी नागरिक मारिएको र १५ जनाभन्दा बढी हराइरहेको अर्जेन्टिनी विदेशमन्त्री सान्टिआगो क्याफिएरोले बताएका छन् । विदेशमन्त्री क्याफिएरोका अनुसार ६ सयभन्दा बढी अर्जेन्टिनी स्वदेश फर्कने भएका छन् । त्यस्तै फ्रान्सेली विदेश मन्त्रालयले आफ्ना २ जना आफ्ना नागरिक मारिएको र १४ जना हराइरहेको जनाएको छ ।

जर्मन विदेश मन्त्रालयका अनुसार केही जर्मन-इजरायली नागरिक हमासको कब्जामा परेका छन् । त्यस्तै १ जना बेलायती नागरिक मारिएको र १ जना हराइरहेको बेलायतका लागि इजरायली राजदूतले जानकारी दिएका छन् । त्यस्तै २ जना युक्रेनी महिला पनि हमासको आक्रमणमा मारिएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ । एक रसियाली नागरिक मारिएको र ४ जना हराइरहेको तेल अभिभस्थित रूसी दूतावासले जनाएको छ ।

त्यस्तै फिलिपिन्सको विदेश मन्त्रालयका अनुसार ७ जना नागरिक हराइरहेका छन् । फिलिपिनी विदेश मन्त्रालयका अनुसार इजरायलमा करिब ३० हजार फिलिपिनी कार्यरत छन् । तीमध्ये अधिकांश स्वास्थ्य सेवासँग सम्बन्धित उद्योगमा काम गर्दै आएका छन् । त्यस्तै हमासको आक्रमणमा परी एक क्यानडेली नागरिक मारिएका छन् भने ३ जना हराइरहेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेतका अनुसार एक जना कम्बोडियाली विद्यार्थी हमासको आक्रमणमा मारिएका छन् ।

त्यसैगरी अस्ट्रिया र ब्राजिलका ३/३ जना, चिली, कोलम्बिया,इटाली, पाराग्वे, पेरु र तान्जानियाका २/२ जना नागरिक हराइरहेका छन् । त्यसैगरी आयरल्यान्ड र पनामाका १/१ नागरिक हराइरहेका छन् । हमासको आक्रमणमा परी इजरायलतर्फ ९ सयभन्दा बढीको मृत्यु भएको छ । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाको आक्रमणमा ६ सय ८०भन्दा बढी प्यालेस्टिनी नागरिक मारिएका छन् । त्यस्तै गाजापट्टीमा ३ हजार ८ सयभन्दा बढी घाइते भएका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार इजरायली जवाफी आक्रमणपछि १ लाख ८७ हजारभन्दा बढी प्यालेस्टिनी नागरिक विस्थापित भएका छन् । त्यस्तै इजरायली डिफेन्स फोर्स(आईडीएफ) ले इजरायलभित्र १ हजार ५ सयभन्दा बढी हमास आक्रमणकारीको शव भेटिएको दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस