२०८१ मङ्सिर २९ गते शनिवार | 2024 December 14th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा, राजमार्ग नै बन्द

Stone pelting at Mirchaiya on revenue investigation team

राजविराज । अनुसन्धानका नाममा व्यापारीलाई पटक–पटक दुःख दिएको भन्दै राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोलीलाई सिरहाको मिर्चैयामा स्थानीयले ढुंगामुढा गरेका छन् । एउटा व्यापारीको गोदाममा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो । स्थिति नियन्त्रणमा लिएर प्रहरीले सुरक्षा दिँदै टोलीलाई मिर्चैयाबाट पठाएको छ । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा–मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् ।

असोज ४ मा टोलीले मिर्चैया–५ संस्था चौकस्थित मुरारी साहको पसलमा छापा मार्दै बहीखाता, बिल भौचर सहितका कागजपत्र नियन्त्रणमा लिएको थियो । अनुसन्धानमा साहको पसलको स्टोरमा भ्याट बिलभन्दा बाहेकका सामान पनि फेला परेको थियो । उक्त सामान नियन्त्रणमा लिनका लागि टोली मंगलबार आएको थियो । राजस्व अनुसन्धान टोलीले साहको पसलबाट सामान नियन्त्रणमा लिएपछि व्यापारी र स्थानीय बासिन्दाले हातपातको प्रयास गरेका थिए । टोलीलाई सुरक्षा दिएर मिर्चैयाबाट पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

राजस्व अनुसन्धान टोलीले पटक–पटक एउटै व्यापारीको पसलमा अनुसन्धानको नाममा दुःख दिएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गको मिर्चैया खण्डमा टायर बालेर विरोध गरेका थिए । सम्झाइबुझाइ राजमार्गमा आवागमन सहज बनाइएको डीएसपी पाण्डेको भनाई छ ।

 

 

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस