२०८१ असार ३१ गते आइतवार | 2024 July 14th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले दियो साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य

२ कात्तिक, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो ।

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो । नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए । चौथो नम्बरमा आएका कप्तान देव खनाले भने शून्य रनमै आउट भए । त्यसपछि आएका दीपकप्रकाश डुम्रेले १४ रनमा आउट भए । मिलन बोहरा ९ रन र दीपेश कंडेलले १४ रन बनाए । विशालविक्रम केसी २४ रनमा अविजित रहे ।

५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो । साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई/दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए ।

यस खेलको विजेता सेमिफाइनल पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ । समूह ए मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई/दुई खेल जितेका छन् । समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

यस खेलको विजेता सेमिफाइनल पुग्नेछ र यू-१९ एसिया कपको लागि एक स्टेप नजिक पुग्नेछ । हाल भइरहेको यू-१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्ने भएकोले सबै खेल उत्तिकै महत्वपूर्ण हुनेछ । समूह ए को विजेताले सेमिफाइनलमा समूह डीको विजेतासँग खेल्नेछ ।

समूह डी को अन्तिम दुई खेल शुक्रबार हुनेछ । जसमा जापान र हङकङ तथा मलेसिया र इन्डोनेसियाबीच खेल हुनेछ । जापान २ खेल जित्दै ४ अंक जोडेर शीर्ष स्थानमा छ । हङकङ र मलेसियाको एक जित र एक हारबाट समान २ अंक छ । दुवै खेलमा पराजित इन्डोनेसिया अंकविहीन छ ।

यू-१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू-१९ एसिया कपमा छनोट हुनेछन् । मलेसिया जानुअघि नै नेपालले यू-१९ प्रिमियर कपको च्याम्पियन हुँदै यू-१९ एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस