२०८१ माघ ३ गते बिहिवार | 2025 January 16th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्रीको बर्खास्तीपछि बेलायतमा संकट, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

ब्रेभरम्यानले एक लेखमार्फत लन्डन प्रहरीलाई प्यालेस्टाइन समर्थक भएको आरोप लगाएकी थिइन ।

काठमाडौं । गृहमन्त्रीलाई हटाएपछि बेलायती प्रधानमन्त्री ऋषि सुनकको पद पनि संकटमा परेको छ । गृहमन्त्री सुएला ब्रेभरम्यानलाई हटाउने निर्णयको सुनककै पार्टीभित्रै विरोध भइरहेको छ । कन्जरभेटिभ पार्टीकी सांसद एन्ड्रिया जेन्किन्सले प्रधानमन्त्रीको निर्णयविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रयास सुरु गरेकी हुन । हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीको संसदीय समूह, १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीलाई लेखेको पत्रमा जेन्किन्सले ‘अब अति भयो’ भनेकी छिन । उनले उक्त पत्र आफ्नो सामाजिक सञ्जाल एक्समा पनि पोस्ट गरेकी छिन ।

उनले लेखेकी छिन, ‘मैले आफ्नो अविश्वासको पत्र १९२२ समितिको अध्यक्षलाई बुझाएकी छु । अब ऋषि सुनक जानुपर्छ । उनको ठाउँमा वास्तविक कन्जरभेटिभ पार्टीको नेता नियुक्त गर्ने समय आएको छ ।’ पत्रमा उनले सुनकको आलोचना गर्दै लेखेकी छिन, ‘ऋषिले हाम्रा प्रजातान्त्रिक रूपमा निर्वाचित नेता बोरिस जोनसनलाई हटाउन कूटनीतिक प्रयास गरे ।’ उनका अनुसार जोन्सनलाई बर्खास्त गर्नु ‘अक्षम्य’ थियो तर अब सुएलालाई मन्त्रिपरिषद्बाट बर्खास्त गर्नु झन् खराब हो । गृहमन्त्री ब्रेभरम्यानले एक लेखमार्फत लन्डन प्रहरीलाई प्यालेस्टाइन समर्थक भएको आरोप लगाएकी थिइन । ब्रेभरम्यानका अनुसार प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरुप्रति प्रहरीले निकै उदार व्यवहार अपनाइरहेको छ ।

जसकारण रिसाएका प्रधानमन्त्री सुनकले उनलाई पदबाट हटाएका हुन । तर, सुनकविरुद्ध उनको दलका १५ प्रतिशत सांसदले अविश्वासको पत्र बुझाएपछि मात्रै उनीविरुद्ध सो प्रस्ताव आउनेछ । सोमबार प्रधानमन्त्री सुनकले अचानक सुएला ब्रेभरम्यानलाई बर्खास्त गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सुनकले पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेर सबैलाई चकित पारेका छन ।

प्रकाशित मिति : २०८० कार्तिक २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस