
२० फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्याण्ड भ्रमण अन्तिम समयमा आएर स्थगित भएको हो । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।
‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन साउद आइतबार फिनल्यान्ड जाने तय भएको थियो । मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ आयोजना हुँदैछ ।
चाँडै सत्ता नै परिवर्तन हुन लागेका कारण प्रधानमन्त्रीले ठाडो आदेशमा भ्रमण रोकेको स्रोतको दावी छ । यसअघि एमाले छोडेर कांग्रेससँग सत्ता साझेदारी गर्ने संकेत आएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले जेनेभा भ्रमणका लागि एयरपोर्ट जाने तयारी गरिरहेकी एमालेबाट परराष्ट्रमन्त्री बनेकी विमला राई पौड्याललाई अकस्मात् रोकेका थिए । आज ठिक त्यस्तै भएको छ । त्यस्तै राजनीतिक परिवर्तनको संकेतपनि देखिएको छ ।