२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

विनोद चौधरी जतिबेलापनि पक्राउ पर्न सक्ने, सभामुखलाई सीआईबीले पठायो यस्तो पत्र

Binod Chaudhary

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संघीय संसदका सभामुख देवराज घिमिरेलाई कांग्रेस सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा लिखित जानकारी गराएको छ । संघीय संसदमा पत्र पुगेसँगै विश्वका धनी अर्बपति चौधरी जतिबेलापनि पक्राउ हुन सक्छन् । बहालवाला सांसदलाई पक्राउ गर्नु परेमा संसद सचिवालयमा जानकारी दिनुपर्ने हुन्छ । अनुशन्धान गरिरहेका छौ भनेर संघीय संसदमा सीआईबीले पत्र पठाएपछि जतिबेलापनि पक्राउ हुनसक्ने आँकलन गर्न सकिन्छ संसद सचिवालयका एक पूर्व अधिकारीले बताए ।

सीआईबीले आज एक पत्र पठाएर बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सम्बन्धमा अनुसन्धान भइरहेको सूचना दिएको हो । सीआईबीका अनुसन्धान अधिकृत होविन्द्र बोगटीले लेखेको पत्रमा भनिएको छ, ‘‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैह्रकानूनी तवरबाट च्याम्पियन फुटवेयर लि. को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि. का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघिय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

संसद सचिवालयले सीआईबीबाट आएको पत्रलाई नोटिसमा राखिएको बतायो । तर, अहिले यो पत्रका सम्बन्धमा कुनै कारबाही आवश्यक नरहेको सचिवालय स्रोतको भनाइ छ । ‘पहिलेको नियमावलीमा कुनै पनि सांसदलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्दा सभामुखलाई पूर्वजानकारी दिनुपथ्र्यो । अहिले पक्राउ गरिसकेर सूचना गर्दा पनि हुन्छ । चौधरीलाई पक्राउ नगरिएको हुँदा सीआइबीले पत्र पठाइरहनु आवश्यक पनि थिएन । सायद गृहमन्त्रीको चाहना अनुसार यसो हल्ला गर्न खोजिएको होला’, स्रोतले भन्यो । तर यो पत्रले चौधरी पक्राउ पर्न सक्छन् भन्ने अनुमानपनि गर्नुपर्छ पूर्व प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति : २०८० चैत्र ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस