२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१४ वटा सीमा नाका खोल्न चीन तयार छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, चैत १९। उपप्रधानमन्त्रीसमेत रहेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताएका छन्।

चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएसँगै विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेको बताए। आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथशीघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको मन्त्री श्रेष्ठको भनाइ छ।

यसबाट चीन सीमानजिक बसोवास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने उनले बताए। ‘कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ। यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु,’ उनले भने।

नेपाल–चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयाममा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको पनि उनले बताए।

‘बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजनालाई अन्तिम रूप दिई कार्यान्वयन गर्नेबारे छलफल भएको छ। नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ। चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु,’ उनले भने, ‘चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ।’

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस