२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकामा सुरु भयो विश्वकपको नेपालको जर्सी बिक्री

काठमाडौं । अमेरिका र वेष्टइन्डिजमा संयुक्त रुपमा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपाल क्रिकेट संघले केही दिन अगाडी जर्सी सार्वजनिक गरेको थियो। जुनको १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली क्रिकेट टिमले लगाउने जर्सीको अमेरिकी बिक्री अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ।

केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक बिक्रीको अधिकारका लागि एक्जोबी यूएसएका ब्यवस्थापकद्वय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेबिच मेरिल्यान्डको बाल्टिमोरमा सम्झौता भएको हो।

सम्झौता अनुसार केल्मी नेपालले एक्जोबी यूएसएलाई विश्वकपमा नेपालले लगाउने जर्सीलाई उपलब्ध गराउने छ। जसका लागि केल्मी नेपालले जर्सीलाई अमेरिकासम्म पु¥याउने जिम्मा लिएको छ । केल्मी नेपालले पहिलो पटक कुनै पनि खेलकुदको विदेशी अधिकार बिक्री गरेको हो।

पछिल्लो पटक नेपाली क्रिकेट टिमको बढ्दो क्रेजलाई आत्मसाथ गर्दै विश्वकपमा नेपाललाई समर्थन गर्ने समर्थकले सोही गुणस्तरको जर्सी लगाएर विश्वकप हेरुन् भन्ने मनसायका साथ यो सम्झौता भएको हो। जर्सीलाई अनलाइनको माध्यमबाट बिक्री गरिने एक्जोबी यूएसएका व्यवस्थापक सुमन क्षेत्रीले बताए। जसका लागि वेबसाइट तयार पारिएको छ भने मूल्य ३९।९९ डलर राखिएको छ।

नेपालको जर्सी लगाएर विश्वकप हेर्न चाहने अमेरिकामा रहेका समर्थकका लागि यो ठूलो खुसीको विषय रहेको एक्जोबीका व्यवस्थापक क्षेत्रीले बताए। विश्वकप हेर्नका लागि अमेरिकामा रहेका नेपाली समर्थक निकै उत्साहित रहेका छन् भने जर्सीका लागि पनि सोधखोज गरिरहेका छन्। अब उनीहरूका लागि यो सम्झौताले ठूलो सहयोग हुने अपेक्षा गरिएको छ।

सम्झौतापछि केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले क्रिकेटको माध्यमबाट केल्मीलाई अमेरिकामा पनि चिनाउन पाउँदा निकै खुसी लागेको बताए। साथै यसले आफूहरूलाई पनि उत्साह थपेको बताए। यो सहकार्य भविष्यमा पनि कायम रहने अपेक्षा रहेको बताए। विश्वकप आउन करिब डेढ महिना भन्दा बढीको समय बाँकी हुँदा राम्रो अनुपातमा जर्सी बिक्री हुने अपेक्षा एक्जोबी यूएसएले गरेको छ।

नेपाली क्रिकेट टिमले समूह चरणका दुई खेल अमेरिकामा खेल्नेछ भने दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ। जसमा अमेरिकामा नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग डालासको ग्राण्ड पिएरीमा खेल्नेछ भने दोस्रो खेल श्रीलंकासँग जुन ११ मा फ्लोरिडामा खेल्नेछ। समूह चरणका बाँकी दुई खेल वेष्टइन्डिजमा हुनेछन्। जर्सी बिक्रीका लागि आजैबाट अनलाइनमा राखिएको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस