२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

इलामको धप्परमा भेटियो जंगली कुकुर

A wild dog was found in the hills of Ilam

इलाम । इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्त्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ। प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार छ सय ५० मिटर उचाइमा फेला परेको हो।

वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्बिर खिच्न सफल भएका हुन्। खरेलले यो जनावर अढाई हजार मिटरभन्दा माथिको उचाइमा भेटिनु निकै महत्त्वपूर्ण उपलब्धि भएको बताए। ‘यो कुकुर प्रायः तराईमा मात्र पाइन्छ भनिन्छ तर कसैसँग यसको फोटो छ कि छैन, मलाई जानकारी भएन,’ खरेलले भने, ‘यो चाहिँ निकै इम्पोर्टेन्ट रेकर्ड हो। बरु स्याल देखिन्छ, फ्याउरो, दुम्सी, मृग देखिन्छ तर ‘वाइल्ड डग’ नेपालको त्यो हाइटमा देखिनु ज्यादै नौलो हो। यो सामान्य विषय होइन।’

खरेलले कुकुरको यो प्रजातिले जिउँदो प्राणीलाई सामूहिक रूपमा चिथोरेर, मारेर खानेगरेको विशेषता सुनाए। ‘यसले अरू प्राणीलाई एक्लै होइन, परिवारै मिलेर आक्रमण गर्छ,’ उनले भने, ‘हामीसँग यसको फोटो सुरक्षित छ।’ स्थानीय नेचर गाइड दाबाछेतेन शेर्पाले यो जनावर देखिनु महत्त्वपूर्ण भएको बताए। ‘हाम्रो ठाउँमा यो उचाइमा महत्त्वपूर्ण उपलब्धि भएको छ,’ उनले भने।

सन्दकपुर गाउँपालिका-५ का वडा सदस्य कुमार गुरुङले आफ्नो गाउँमा जंगली कुकुर फेला पर्नु र तस्बिरसमेत खिच्न पाउनुले जैविक विविधताको महत्त्व बढाएको बताए। ‘हाँगेथाम क्षेत्र चरा र दुर्लभ जनावरका लागि निकै संवेदनशील ठाउँ हो,’ उनले भने, ‘यही ठाउँमा जंगली कुकुर भेटिनुले यहाँको जैविक विविधताको परिचय दिएको छ, पर्यटकीय सम्भावनाको उजागर पनि गरेको छ।’ गुरुङले यो क्षेत्रको जैविक विविधताको थप अध्ययन आवश्यक रहेको पनि बताए।

 

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस