२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

मुख्यमन्त्री बने यमलाल कँडेल

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यमलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मङ्गलबार साँझ संविधानको धारा १६८ (२) अनुसार नेकपा (एमाले संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि मंगलबार नै कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका ९ (सभामुख बाहेक) प्रदेश सांसद छन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्र (१३) र एकीकृत समाजवादी (१) ले समर्थन गरेपछि कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

कँडेलको पक्षमा प्रष्ट बहुमत भएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरे । ‘अघिल्लो प्रदेशसभामा ४० मध्ये जम्मा ६ सिट जितेको कांग्रेसले सरकार बनायो, तर २० सिट जित्दा पनि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएको थिएन’ एमालेका एक केन्द्रीय नेता भन्छन्, ‘यो पटक १० सिट जित्दा पनि सरकारको नेतृत्व गर्ने अवसर पाएका छौं । यो एमाले लागि चुनौती र अवसर दुवै हो ।’

मुख्यमन्त्री कँडेलको पनि परीक्षा सुरु भएको छ । किनकि अघिल्लो कार्यकालमा मुख्यमन्त्री बन्न धेरै प्रयास गर्दा पनि उनी सफल हुन सकेको थिएनन् । सत्ता बाहिर हुँदा सदनमा होस या सार्वजनिक समारोहमा कँडेल भनिरहन्थे, ‘एमालेले नेतृत्व नपाउँदा कर्णालीको विकासले गति लिन सकेन । यो पटक प्रदेशसभाको गणितमा एमाले निकै कमजोर अर्थात तेस्रो दल भएको बेला माओवादी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका छन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस