२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चुच्चे नक्सासहित नयाँ नोट निकाल्ने नेपालको निर्णयबारे भारतको असन्तुष्टि

काठमाडौं । नेपालले चुच्चे नक्सासहितको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् । शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको बताएका हुन् ।

ुनेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो ? भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने, मैले पनि त्यो रिपोर्ट देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन । अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनेकी थिइन्, हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

अहिले प्रचलनमा रहेको सय रुपैयाँको नोटमा पुरानै नक्सा रहेको छ । नयाँ नक्सा जारी भएपछि सोहीअनुसार डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले एक कार्यक्रमका बीच कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी थिइन् । नेपाल सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको हो । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । नेपालको नयाँ नक्सामा लिम्पियाधुरामाथिबाट बग्ने कालीनदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस