२०८१ मङ्सिर २३ गते आइतवार | 2024 December 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले बंगलादेशलाई दियो १९७ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई जितका लागि एक सय ९७ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको हो । हार्दिक पाण्ड्या ५० रनमा अविजित रहे । उनले २७ बलमा तीन छक्का र चार चौका हिर्काए ।

ओपनर विराट कोहलीले पनि ३७ रन बनाए । विराटले २८ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काए । कप्तान रोहित शर्माले पनि टोलीको खातामा २३ रन थपे । ओपनर रोहितले केवल ११ बलमा एक छक्का र तीन चौका पनि प्रहार गरे ।

ओपनरको भूमिकामा ओर्लिएका विराट र रोहितले ३९ रनको साझेदारी गरेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका ऋषभ पन्तले पनि टोलीको खातामा ३६ रन थपेका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभले २४ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान सूर्यकुमार यादब भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका शिवम् दुबेले ३४ रन बनाए । उनले २४ बलको सामना गरी तीन छक्का पनि हिर्काए । बंगलादेशका बलर तान्जिम हसन सकिबले दुई विकेट लिए । रिसाद होसैनले पनि दुई विकेट हात पारे । सकिब अह हसनले पनि एक–एक विकेट लिए ।

भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । आफ्नो पहिलो खेलमा विजयी भएका अस्ट्रेलिया र भारत क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । आफ्नो पहिलो खेलमा पराजित भएका अफगानिस्तान र बंगलादेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् । शनिबार रातिको खेलमा पराजित भए बंगलादेशको सेमिफाइनलमा पुग्ने सपना लगभग समाप्त हुनेछ ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस