
डोल्पा । डोल्पाको सदरमुकाम दुनैमा मध्यराति आएको बाढीले सरकारी कार्यलय र केही घरमा क्षति गरेको छ । राति २ बजेदेखि सुरु भएको करिब आधा घण्टाको चट्याङसहितको पानीले खहरे खोलामा आएको बाढी घर र सरकारी कार्यलयमा पसेको हो ।
दुनै बजारको तल्लो भागमा तिप्ला जाने बाटो माथिका खहरे खोलाबाट बाढी आएर जिल्ला अदालत, दुनै घारी टोल र आसपासका घरहरुमा बाढी पसेको छ । दुनै बजारको माथिल्लो भागको खहरे खोलामा बाढी आउदा मालपोत कार्यलय त्येस आसपासका घरहरु र घुम्ती पसलहरुमा बाढी पसेको छ । मध्य रातमा चट्याङसहितको मेघ गर्जनले ल्याएको बाढीबाट स्थानीयहरु त्रसित भएका छन् ।
बाढी आएपछि जिल्ला प्रशासन कार्यलय डोल्पाले आवश्यक सुरक्षाकर्मी परिचालन गरि बस्तुस्थिति बुझिएको र पुग्न सक्ने ठाउहरुमा राति नै आफू पुगेको प्रमुख जिल्ला अधिकारी तुल्सीप्रशाद दाहालले बताउनु भयो । अहिलेसम्म कुनै पनि मानवीय क्षेति भएको छैन । तर अन्य क्षेति के कति भयो भन्ने एकिन हुन नसकेको प्रजिअ दहालको भनाइ छ ।