खोटाङ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल साल्पा सिलिचुङ खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित छ । किराती पुर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा राखेर अहिले इतिहास बुझाउने प्रयास गरिएको छ । पूर्वी पहाडको भर्जिन गन्तव्य मुन्धुम ट्रेल पदमार्गको विस्तार गरेर यहाँको इतिहास, धर्मिक तथा पर्यटकीयस्थलको प्रचारमा सबै क्षेत्र जुटिरहेका छन् । स्थानीय भिडियो क्रियटरहरुलेपनि यस क्षेत्रका भिडियोहरु बारम्बार सामाजिक सञ्जालहरुमा ल्याइरहेका छन् । नेपाललाई विश्व समुदायमा चिनाइरहेकी एकल पदयात्रीको रुपमा परिचित सिर्जना सिज्जुलेपनि भर्खरै यस मुन्धुम ट्रेल पदमार्गको यात्रा गरेकी छिन् ।
यहाँ वाबु (चिण्डो) आकारको मुन्दुमी गेट, माङखिम तथा मुन्दुम सङ्ग्रहालय लगायतका संरचनाहरुपनि बनिरहेका छन् । चार हजार एक सय ५५ मिटर उचारमा रहेका सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्गा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत हिमश्रृङ्खला, तराईका फाँट तथा विभिन्न नदीहरू देख्न सकिन्छ । सिलिचुङ आसपास रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका डाँडामध्ये अग्लो डाँडा हो । सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्ने चलन छ ।
साल्पापोखरीमा बैशाख, भदौ, कातिक र फागुन महिनाको पूर्णीमामा मेला लाग्छ । यहाा खोटाङ, भोजपुर, सफ्वुासभा, धनकुटा, सोलुखुम्बूलगायत विभिन्न जिल्लाबाट तीर्थालु पुग्ने गरेका छन् । साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरु बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ । यहाँपनि नक्छुरनछुङ (धामी) को प्रतिमा राखिएको छ ।
कचौरा आकारमा फैलिएको साल्पापोखरी समुन्द्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ । पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरी कै मार्ग प्रयोग गरेका थिए । नेपालको सय गन्तव्यमध्ये पर्ने मुन्दुम पदमार्ग अन्तरगत पर्दछ । यसक्षेत्रमा होमस्टे, गोठस्टे लगायत पनि विस्तार हुन थालेका छन् । यसक्षेत्रमा ठूला–ठूला घाँसेमैदान, चौरीखर्क, भोडीचोक, घोडचढी लगायतका लोभलाग्दो दृष्य अवलोकन गर्न पाइन्छ ।
यसका साथै साल्पासिलिचुङसम्वन्धी मिथकहरूको खोज अनुसन्धान गरी त्यसको संरक्षण भइरहेको छ । साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, भोगिराज चाम्लिङ, तारामणि राई, शालिक शतासक राई, कमलजङ्ग राई, चन्द्र हतुवाली, भद्रगोल किराती लगायतको उपसमिति निर्माण गरी मिथकहरू खोज–अनुसन्धान सुरु गरिएको छ ।
भिडियो क्रियटर मनोज आचार्य र मिलन आचार्यले यहाँका अत्यन्तै आकर्षक भिडियोहरु प्रस्तुत गरेका छन् ।