काठमाडौं । नेपाल टेलिकम केही सुध्रिएको थियो । सहरदेखि गाउँ–गाउँका प्रयोगकर्ताहरु भ्वाइस र डेटा प्याक तानेर मज्जाले इन्टरनेट र फोन सेवा प्रयोग गरिरहेका थिए । सेवा शुल्क महँगो भएपनि धेरैले प्याकेज र अफरहरुको लाभ उठाइरहेका थिए । यसले निजी तथा विदेशी कम्पनी एनसेललाई मुस्किल बनाएको थियो ।
अहिले टेलिकम कम्पनीबीच प्याकेजहरुमा नै बढी प्रतिस्पर्धा छ । निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले ठीक उल्टो बाटो समातेको छ । टेलिकमको उच्च ओहोदामा रहेको नेतृत्वले निजी सेवा प्रदायकसँग रकम खाएर टेलिकम सिध्याउन कसरत गरिरहेको गाई गुई कुरा बाहिर आउन थालेको छ ।
नेपाल टेलिकमले नयाँ बजार रणनीति बनाएर थोरै मूल्यका साना प्याकेजहरु निरुत्साहित गर्न थालेको छ । प्याकेजको संख्या धेरै भएको भन्दै टेलिकमले ग्राहकले धेरै रुचाएका र धेरै प्रयोगमा रहेका प्याकहरु नै हटाएर ठूला र महँगा प्याकहरू ल्याउन सुरू गरेको छ । यसले गर्दा ग्राहकलाई ठूलो प्याकेज किन्न र धेरै मूल्य एकैपटक तिर्न बाध्यता आइपर्न थालेको छ । ठूलो आकारको डेटा प्याकेजहरु बिक्री गर्ने र त्यसबाट बढी आय गर्ने गरी टेलिकमले प्याकेजहरुको पुनर्संरचना गर्न थालेपछि धेरै ग्राहकहरु मर्कामा परेका हुन् । यही जारी राखे थोरै रकम राखेर इन्टरनेट र फोन सेवा चलाउने ग्राहकहरुले अब एनटिसीको सिम फ्याल्नुपर्ने हुन्छ ।
सबै समयमा उपयोग गर्न सकिने (अल टाइम) भ्वाइस र डेटा, टेलिकमबाट टेलिकमकै फोन कल गर्न मिल्ने (एनटी टू एनटी) भ्वाइस प्याकसहित सर्वसाधारणले आवश्यकता अनुसार दैनिक उपयोगमा खरिद गर्न मिल्ने डेटा र भ्वाइस प्याकहरु महँगो बनाइएको हो । टेलिकमको यस्तो कदमले प्रिपेड ग्राहकहरु बढी समस्यामा परेका छन् । टेलिकमले व्यापार वृद्धिका लागि महँगो मूल्यको प्याक प्रवर्द्धन गर्न थालेपछि टेलिकमकै अधिकारीहरू यसलाई संस्था धराशायी बनाउने कदम भनिरहेका छन् ।
टेलिकमले गत साउन १६ मा भ्वाइस र डेटातर्फका प्याकेजहरुमा विभिन्न परिवर्तन गरेको थियो । यो बेला केही रूचाइएका प्याकेजहरू पनि हटाइएका छन् । टेलिकमको यो कदमलाई धेरै ग्राहकहरुले मन पराएका छैनन् । टेलिकमले अहिले एकैपटक महिना दिनभरि चलाउन मिल्ने गरी विभिन्न प्याकेजहरु हटाएर अनलिमिटेड योजना ल्याएको छ । न्युनतम् ७०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्मका प्याकेजहरु ल्याएको छ । यसलाई देखाएर धेरै साना र तुलनात्मक रुपमा सस्ता तथा लोकप्रिय योजनाहरु गायब पारिएको छ । सुरुवात नै ६९९ रुपैयाँबाट सुरु हुने प्याकेजले ग्राहकहरुलाई अनावश्यक डेटा र भ्वाइसमा खर्च गर्न बाध्यता पर्ने देखिन्छ ।