२०८२ जेष्ठ ८ गते बुधवार | 2025 May 21st Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मात्र दुई महिनामा सात अर्ब ५५ करोड रूपैयाँको विद्युत निर्यात

काठमाडौं, असोज २३ । नेपालले चालु आर्थिक वर्ष २०८१–०८२को पहिलो दुई महिनामा भारतमा सात अर्ब ५४ करोड ६१ लाख रूपैयाँको विद्युत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षा यामको एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले साउनमा तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ। भदौमा तीन अर्ब ५५ करोड पाँच लाख रूपैयाँको विद्युत निर्यात गरेको थियो। साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो। भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत निर्यात गरिएको हो। दुई महिनाको विद्युत निर्यातको औसत दर प्रतियुनिट सात रूपैयाँ ३३ पैसा रहेको छ। साउनको प्रति युनिट औसत दर ८ रूपैयाँ ११ पैसा थियो भने भदौमा ६ रूपैयाँ ६२ पैसा छ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ। सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ। भारतसँगको विद्युत व्यापार भारतीय रूपैयाँ (भारू) मा हुने गरेको छ। त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए। ‘चालू आवमा करिब ३० अर्ब रूपैयाँको विद्युत निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत केन्द्र र प्रसारण लाइनमा क्षति पुर्‍याउँदा विद्युत उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ।

 

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस