१५ कार्तिक, काठमाण्डौँ । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा डा अर्यालले सफाइ पाउने फैसला गरेको हो ।
अदालतले राष्ट्रिय सुरक्षण मुद्रण केन्द्रका लागि राष्ट्रिय बजेटबाट नै ‘एलएमबीएस’ माध्यमबाट बजेट विनियोजन भएको देखिएको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका निर्देशक प्रतिवादी विकल पौडेलले सो बजेट र खरिद योजना स्वीकृतिका लागि प्रतिवादी रहेका निज सचिवसमक्ष पेस गरेको, निजले मन्त्रालयको सचिवको हैसियतमा बजेट र खरिद गुरुयोजना स्वीकृत गर्दा सो बजेट हुबहु स्वीकृत गरेको देखिँदा बजेटको भावनामा तात्विक फरक पर्ने अवस्था देखिन नआएको ठहर अदालतको छ ।