काठमाडौं — थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि पुनः व्यावसायिक उडान सुरु गरेको छ। मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने थाई एयर एसिया चौथो एयरलाइन्स बनेको हो। यसअघि जजीरा एयर, हिमालय एयरलाइन्स, र नेपाल एयरलाइन्सले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिसकेका छन्।
प्राधिकरणका अनुसार काठमाडौँ र भैरहवाबाट नियमित उडान भर्ने शर्तमा थाई एयर एसियालाई अनुमति दिइएको छ। कम्पनीले काठमाडौँमा आइतबार, सोमबार, बुधबार, र शुक्रबार तथा भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ। थाई एयर एसियाले त्रिभुवन विमानस्थलमा गत असोज १६ गतेदेखि पुनः उडान सञ्चालन गरिरहेको थियो।
यस्तै, आगामी कात्तिक २५ गतेदेखि फ्लाई दुबईले पनि गौतमबुद्ध विमानस्थलबाट दैनिक उडान सुरु गर्नेछ भने कुवेतको जजीरा एयरले कात्तिक २४ गतेबाट हरेक मंगलबार, बिहीबार, र शनिबार उडान भर्नेछ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘विन्टर सेड्युल’ अनुसार नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायकले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।